विद्यालय व्यवस्थापन समितिका लागि तयार पारिएको मतपत्र ।

हेटौँडाः मकवानपुरको बकैया गाउँपालिका–४, ठूलोथलीस्थित बाघभैरव आधारभूत विद्यालयको व्यवस्थापन समिति चयनका लागि आइतबार निर्वाचन हुँदैछ । तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन हुन नसकेपछि निर्वाचन हुन लागेको हो ।

विद्यालयका प्रधानाध्यापक सुवास स्याङ्बोका अनुसार आइतबार हुने निर्वाचनका लागि उम्मेदवारहरुको टुङ्गो लागेको छ । चार जना सदस्य पदका लागि ८ जनाको उम्मेदवारी परेको उहाँले जानकारी दिनुभएको छ । उम्मेदवारहरुलाई बिहीबार निर्वाचन चिह्न पनि प्रदान गरिसकिएको छ ।

उम्मेदवारहरु रस्मिता घलानले बस, पूर्णिमा भोलनले चरा, अजय लामा भोलनले घडी र सुनिल बोम्जनले फुटबल चुनाव चिह्न प्राप्त गर्नुभएको छ । यस्तै, अम्बिका न्यासुरले पङ्खा, भीमलाल लुङ्बाले किट्ली, सुनमाया जिम्बाले टेबल र शान्ति मोक्तानले गमला चिह्न प्राप्त गर्नुभएको छ ।

आइतबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म हुने निर्वाचनमा १ सय ३२ जना अभिभावकहरुले मतदान गर्ने प्रधानाध्यापक स्याङ्बोले बताउनुभयो । ८ जनामध्ये ४ जना निर्वाचित हुनेछन् । पछि मनोनित हुने दुई जना सदस्य, वडा प्रतिनिधि, शिक्षक प्रतिनिधि र प्रधानाध्यापक गरी ९ जनाको विद्यालय व्यवस्थापन समिति बन्नेछ ।

प्रधानाध्यापक स्याङ्बोले निष्पक्ष, लगनशील र विद्यालयलाई समय दिन सक्ने बलियो समिति बन्न आवश्यक रहेको बताउनुभयो । अहिले विद्यालयमा भौतिक संरचना र आर्थिक समस्या रहेको जानकारी दिनुहुँदै यसलाई सामना गर्न सक्ने समिति बन्नुपर्ने उहाँले बताउनुभयो । बालविकासदेखि कक्षा ८ सम्म अध्यापन हुने विद्यालयमा २ सय २६ जना विद्यार्थी अध्ययनरत छन् ।