हेटौँडाः हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले एसईईमा वडाभित्रका विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकलाई सम्मान गरेको छ । कार्यक्रममा जिल्लामै ४ जीपीए ल्याउन सफल एकमात्र विद्यार्थी रितिका छत्कुलीलाई नगदसहित सम्मान गरेको हो ।
बुधबार वडा कार्यालयले सम्मान एवम् पुरस्कार वितरण कार्यक्रम आयोजना गर्दै छत्कुलीसहित वडाभित्रका विद्यालयमध्ये सबैभन्दा बढी जीपीए ल्याउने विद्यार्थीलाई पनि नगदसहित सम्मान गरेको छ । जिल्लामै ४ जीपीए ल्याउने एकमात्र विद्यार्थी छत्कुलीलाई १० हजार रुपैयाँ र प्रमाणपत्रसहित सम्मान गरिएको छ । वडाभित्रका सामुदायिक विद्यालयतर्फ सबैभन्दा बढी जीपीए ल्याउने आधुनिक राष्ट्रिय माविका बेबी मर्जिना खातुनलाई नगद २ हजार ५ सय एवम् अमित पटेल र अर्जुनकुमार महतोलाई जनही एक हजार २५० नगद र प्रमाणपत्रसहित सम्मान गरेको छ । यस्तै, संस्थागत विद्यालयतर्फ वडामा सबैभन्दा बढी जीपीए ल्याउने छात्रतर्फ ब्रह्मदिक एकेडेमीका सौरनप्रसाद साह कलवार र छात्रातर्फ सत्यम जेभियर्स माविकी लिजा खुलाललाई जनही २ हजार ५ सय नगद र प्रमाणपत्रसहित सम्मान गरेको छ ।
वडाभित्र रहेका ३ वटा सामुदायिक र ३ वटा संस्थागत विद्यालयका ३४ जना शिक्षकलाई सम्मान गरिएको छ । एसईईमा आफूले पढाएको विषयमा विद्यार्थीले ए प्लस ग्रेड प्वाइन्ट प्राप्त गरेका शिक्षकलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो । यस्तै, एसईईमा ३.२० भन्दा बढी जीपीए ल्याएका २ सय ५८ जना विद्यार्थीलाई प्रमाणपत्रसहित सम्मान गरिएको छ ।
शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ का अध्यक्ष श्रीराम दहालको सभाध्यक्षता र बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि पौडेलले नेपालको परीक्षा प्रणाली परिवर्तन र सुधार गर्न आवश्यक रहेको बताउनुभयो । परीक्षा प्रणालीको सुधारबिना नतिजामा सकारात्मक परिवर्तन नहुने उहाँको भनाइ छ ।
कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख सीताराम कोइराला, आधुनिक राष्ट्रिय माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहम्मद समीम, हेटौंडा क्याम्पसका क्याम्पस प्रमुख देवीराम लामा, स्थानीय राजनीतिकर्मी प्रदिप कोइराला, ४ नम्बर वडा सदस्य जनरल श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा ४ नम्बर वडाभित्रका विभिन्न विद्यालयका व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक र विद्यार्थीको सहभागिता थियो ।