हेटौँडाः जङ्गली च्याउ खाँदा मकवानपुरको भीमफेदी गाउँपालिकामा ७ जना बिरामी भएका छन् । बिरामी मध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
बुधबार राती ११ बजेको समयमा भीमफेदी गाउँपालिका–६, उर्लाघारीमा जङ्गली च्याउ खाँदा ६५ बर्षीया मंगलीमाया स्याङ्तान, मंगलीमायाका छोरा ३२ बर्षीय बुद्धिबहादुर स्याङ्तान, बुहारी ३० बर्षीया पासाङ माया स्याङ्तान, नातिनी १९ बर्षीया लक्ष्मी माया स्याङ्तान, १५ बर्षीया पार्वती स्याङ्तान, ७ बर्षीया आरती स्याङ्तान र नाती ७ बर्षीय लासाङ स्याङ्तान बिरामी भएका हुन् ।
लासाङको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । मंगलीमाया र लक्ष्मीमायाको हेटौँडा अस्पतालमै उपचार भइरहेको र अरु ५ जनालाई भने थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जानकारी दिएको छ । मंगलीमायाले जङ्गलबाट ल्याएको च्याउ राती पकाएर खाएर सुतिसकेका थिए । बुद्धिबहादुर बिउँझिएर बान्ता गरेको र परिवारका अन्य सदस्य अचेत अवस्थामा पाएपछि छिमेकी र प्रहरीलाई खबर गरेका थिए । प्रहरीले भीमफेदी–६ स्थित महेन्द्र माविको बसमा बिरामी सातैजनालाई हेटौँडा पठाएको थियो ।
यसअघि पनि मकवानपुरमा जङ्गली च्याउ खाँदा ३ जनाको मृत्यु भइसकेको छ भने केही बिरामी भएका थिए ।