सोमबार मध्यरातमा मुलुकको राजनीतिक गठबन्धन फेरिएको छ । सत्ता गठबन्धनको नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबिच नयाँ गठबन्धन भएको हो । यो गठबन्धनले वर्तमान प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार धरापमा परेको छ । केन्द्रमा फेरिएको गठबन्धनले संघीय सरकार परिवर्तन भएपछि त्यसको असर सातै प्रदेशमा पर्ने निश्चित छ । हाम्रा राजनीतिक दल र तिनका नेतृत्वको ढुलमुले शैली र सत्तामोहले देशलाई निकै अस्थिर बनाइरहेको छ । राजनीतिक नेतृत्व यति अस्थिर बनिरहँदा आजको निर्णय आजसम्म मात्रै टिकाउन पनि मुस्किल बन्न थालेको छ । दलीय सिद्धान्त र एजेण्डामा अडिग रहन नसक्ने र दीर्घकालीन एजेण्डा नबोक्ने नेतृत्वकै कारण राजनीतिक अस्थिरता बढिरहेको छ । यसले राजनीतिक दलहरुमात्र नभई वर्तमान शासन व्यवस्थाप्रति नै अविश्वास बढिरहेको छ ।

सोमबार राति कांग्रेस र एमालेबिच सत्ता सहकार्यका लागि सहमति भएको छ । संविधान संशोधनसहितको एजेण्डामा कांग्रेस र एमालेबिच सत्ता सहकार्य यात्रा तय भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार पहिलो चरणमा २ वर्षका लागि एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गरिनेछ भने दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ । नेपालको राजनीतिमा विभिन्न दलहरुबिच सत्ता गठबन्धन बनाउने र भत्काउने नियमित प्रक्रिया नै बनिसकेको छ । २०७९ सालको आम निर्वाचनबाट कुनै पनि दलले बहुमत नल्याउँदा सत्ता राजनीति अस्थिर बन्दै आएको छ । निर्वाचनको परिणाम प्राप्त भएपछि आफूलाई प्रधानमन्त्री बनाउन कांग्रेसका शेरबहादुर देउवाले र एमालेको सहयोग खोजेका थिए । तत्कालीन चुनावी गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो कार्यकाल प्रधानमन्त्री चाहिने अडान राखेपछि देउवाले आफैं प्रधानमन्त्री बन्न एमालेको साथ खोजेका थिए । तर एमालेका ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बन्न सहयोग गरेपछि कांग्रेस प्रतिपक्षमा बस्यो ।

पछिल्लो १८ महिना माओवादीसँग गठबन्धन गरेर प्रधानमन्त्री प्रचण्डको काँध थाप्न कांग्रेस र एमालेबिच प्रतिस्पर्धा चल्यो । २०७९ पुसमा एमालेले काँध थापेर प्रधानमन्त्री बनेका प्रचण्डले करिब २ महिनामै एमालेको साथ छाडे । २०७९ फागुनमा एमालेको काँध फेरेका प्रचण्डले कांग्रेसलाई साथमा लिएर सरकार चलाए । एक वर्ष कांग्रेससँग मिलेर सरकार चलाएका प्रचण्डलाई २०८० फागुनदेखि फेरि एमालेले काँध हाल्यो । असार १७ मा आएर प्रधानमन्त्री प्रचण्डलाई काँधबाट झारेर कांग्रेस र एमालेले सत्ता सहकार्यका लागि सहमति गरे । पछिल्लो डेढ वर्षको घटनाक्रमले कांग्रेस, एमाले र माओवादी तीनवटै दल सत्ता र शक्तिका लागि जे पनि गर्न तयार रहेको बुझाउँछ । यिनलाई सहयोग गर्न साना र नयाँ दलसमेत अग्रसर बनिँदिँदा राजनीति अस्थिरता बढाउन थप बल पुगेको छ । रातारात अप्रत्यासित रूपमा बन्ने गठबन्धनका कारण कुन दल र नेताले कतिखेर कुरा फेर्छन् र को कता पुग्छन् अनुमानसमेत गर्न नसक्ने अवस्था बनिरहेको छ ।

राजनीतिक दल र तिनका नेतृत्व सत्ताका लागि जस्तोसुकै निर्णय वा सहमति गर्न तयार हुने गरेका कारण देश विकास र समृद्धिको पथमा अघि बढ्न सकेको छैन । देश र जनताका लागि राजनीति गरेको भन्नेहरु नै जनताको सुख, सुविधा र आकांक्षालाई बिर्सिएर सत्ता राजनीतिमा ढुलमुल बनिरहनु देश र जनताका लागि दुर्भाग्य हो । देश र जनताको स्वार्थभन्दा व्यक्तिगत र दलीय स्वार्थमा जोसँग जहिले पनि गठबन्धन गर्ने परिपाटी विकास समृद्धिको बाधक बनिरहेको छ । वर्तमान सरकारका काम कारबाही आफू अनुकूल नहुँदा अहिले एमालेले माओवादीसँगको गठबन्धन त्यागेर कांग्रेससँग गठबन्धन गरेको आम नागरिकको बुझाइ छ । आफूलाई अप्ठ्यारो पर्ने भएपछि कुनै न कुनै बहानामा गठबन्धन गर्ने वा फेर्ने परिपाटीको अन्त्य आवश्यक छ ।