हेटौंडाः केन्द्रीय तहमा सत्ता समीकरण परिवर्तनसँगै बागमती प्रदेश सरकारमाथि पनि संकट देखिएको छ । केन्द्रीय तहमा एमाले–कांग्रेस गठबन्धन निश्चित बनेसँगै नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शालिकाराम जम्कट्टेल नेतृत्वको सरकारमाथि संकट देखिएको हो ।
एमाले, एकीकृत समाजवादी, माओवादी केन्द्र र हाम्रो नेपाली पार्टीको गठबन्धनबाट सरकारको नेतृत्व सम्हाल्दै आउनुभएका जम्कट्टेलको पद नयाँ समीकरणको कारण ढल्ने निश्चितजस्तै भएको हो । नयाँ सत्ता समीकरणमा बागमती प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति बनेको अवस्थामा जम्कट्टेल नेतृत्वको सरकार टिकाउन निकै चुनौती छ ।
केन्द्रमा नयाँ गठबन्धन र सरकार बनेपछि प्रदेशमा समेत त्यसको प्रभाव पर्दै आएको छ । सत्ता समीकरण परिवर्तनसँगै जम्कट्टेलले ३ माघ २०७९ मा पहिलो पटक विश्वासको मत लिएका थिए भने एमालेले सरकार छाडेपछि १० चैतमा दोस्रो पटक र कांग्रेसले सरकार छोडेपछि १९ चैत २०८० मा तेस्रो पटक विश्वासको मत लिएर सरकार टिकाउँदै आएका छन् । तर, यसपटक भने उनको सरकार टिकाउन चमत्कार नै हुनुपर्ने देखिन्छ ।
सत्ता समीकरण परिवर्तनपछि कांग्रेस र एमाले सम्मिलित सरकार बनेपछि मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको माओवादी केन्द्र प्रतिपक्षमा पुग्ने निश्चित भएको छ । यद्यपि, अहिलेसम्म प्रदेश सरकारको परिवर्तनका विषयमा प्रदेशमा नेतृत्व गर्ने दलहरुले कुनै पनि प्रतिक्रिया दिएका छैनन् । प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरुले केन्द्रमा हुने घटनाक्रमका आधारमा प्रदेशमा पनि गतिविधि बढाउने तयारीमा छन् । जसका कारण मुख्यमन्त्री जम्कट्टेललाई केही राहत मिल्ने देखिन्छ ।
जम्कट्टेलको सत्ता नेतृत्वको यात्रा
गत २०७९ पुस २५ मा एमाले, राप्रपा, माओवादी केन्द्र, एकीकृत समाजवादीको सत्ता समीकरणबाट मुख्यमन्त्री बन्नुभएका जम्कट्टेल समीकरण परिवर्तनसँगै ३ पटक सरकार जोगाउन सफल हुनुभयो । पहिलो पटक २०७९ माघ ३ मा सो गठबन्धनबाट विश्वासको मत लिएर सरकार टिकाएका जम्कट्टेलको लोकप्रियता निरन्तर खस्कँदै गएको देखिन्छ । माघ ३ मा कुल ११० सांसदमध्ये १०५ सांसदको समर्थन पाउनुभएका उहाँसँग राप्रपाको सहयात्रा ४२ दिनमा नै टुंगियो । तत्कालीन गठबन्धनबाट २०७९ फागुन १२ मा राप्रपा अलग भएपछि मुख्यमन्त्री जम्कट्टेलले पुनः संसदबाट विश्वासको मत लिनुपरेको थियो । सो समयमा राष्ट्रपति निर्वाचनका लागि भएको सत्ता समीकरणबाट राप्रपा अलग भएको थियो ।
सत्ताधारी दल माओवादी केन्द्रले कांग्रेस, एकीकृत समाजवादीसँग समीकरण निर्माण गरेपछि एमाले पनि सरकारबाट बाहिरिन बाध्य भयो । २०७९ चैत १० मा मुख्यमन्त्री जम्कट्टेलले संसदबाट दोस्रो पटक विश्वासको मत लिने समयमा एमाले सरकारबाट अलग हुँदै प्रतिपक्षमा पुगे र कांग्रेस सत्ता समीकरणमा प्रवेश गरेको थियो । सो समयमा मुख्यमन्त्री जम्कट्टेलले ६७ सांसदको समर्थन पाउनुभएको थियो ।
करिब १ वर्ष कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको साझेदारीमा सरकार सञ्चालन भयो । अन्ततः २०८० फागुन २० मा पुनः समीकरण परिवर्तन भयो । सोपश्चात् फागुन २३ मा कांग्रेस सरकारबाट अलग भयो र प्रतिपक्षमा खडा भयो । त्यसलगत्तै बाध्यकारी परिस्थितिका बिच चैत १९ मा मुख्यमन्त्री जम्कट्टेलले पुनः विश्वासको मत लिनुभयो । सो समयमा उहाँले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको गठबन्धनबाट ५६ मा प्राप्त गर्नुभयो । जुन सरकार गठनका लागि आवश्यक सामान्य बहुमत हो ।
मुख्यमन्त्री जम्कट्टेलले १८ महिनाको अवधिसम्म प्रदेश सरकारको बागडोर सम्हाल्नुभएको छ । अहिले पनि उहाँको सरकारबाट कुनै दल पनि अलग भएको छैन । तर, सत्ता समीकरण परिवर्तन हुने निश्चित भएसँगै उहाँको सरकार टिक्ने अवस्था देखिँदैन ।
सत्ता गठबन्धन परिवर्तनसँगै पटक–पटक संकटको सामना गर्नुभएका मुख्यमन्त्री जम्कट्टेल यसपटक भने निकै अप्ठ्यारोमा पर्नुभएको छ । सोमबार राति बनेको कांग्रेस र एमालेको गठबन्धनका कारण उहाँको मुख्यमन्त्री पद धरापमा परेको हो । नयाँ समीकरणअनुसार अघि बढ्दा छिट्टै नै प्रदेशको सत्ताको चाबी उहाँको हातबाट खोसिने निश्चित छ ।
११० सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक रहेकोमा कांग्रेस र एमालेसँग गरेर ६४ सांसद रहेका छन् । बागमती प्रदेशसभामा सात राजनीतिक दलको प्रतिनिधित्व रहेकोमा सबैभन्दा ठूलो दल कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् । यस्तै, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।