गत चैतमा सम्पन्न कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा गत बिहीबार सार्वजनिक भएको छ । अहिले जताततै एसईई परीक्षाको नतिजालाई लिएर विभिन्न प्रकारका चर्चा र बहस भइरहेका छन् । यस वर्षको एसईईको नतिजामा ५२ प्रतिशत विद्यार्थी कक्षा ११ पढ्न अयोग्य भएपछि यसबारे चर्चा र बहस चुलिएको हो । एसईईको राष्ट्रिय नतिजा नै कमजोर बनेपछि मकवानपुर जिल्ला पनि यसबाट अछुतो रहन सकेन । जिल्लाका १० वटा पालिकामध्ये हेटौंडा उपमहानगरपालिकाबाहेक बाँकीको नतिजा राष्ट्रिय नतिजाभन्दा कमजोर रह्यो । हेटौंडा उपमहानगरपालिकाको नतिजा पनि खासै राम्रो रहेन । जिल्लामा ५ हजार ९२६ विद्यार्थीले एसईई दिएकोमा २ हजार १६७ जना (३६.६ प्रतिशत)मात्र उत्तीर्ण भए । जिल्लाका १३८ विद्यालयले विद्यार्थीलाई एसईईमा सहभागी गराएकोमा १६ वटा विद्यालयको नतिजा शून्य रह्यो ।
२०८० सालको एसईईमा हेटौंडा उपमहानगरका २ वटा विद्यालयको नतिजा शून्य आएको छ । एउटा निजी र एउटा सामुदायिक विद्यालयबाट एसईईमा सहभागी सबै विद्यार्थी फेल भएका छन् । नतिजा शून्य हुनेमा भीमफेदी, बकैया, कैलाश, मकवानपुरगढी र बागमती गाउँपालिकाका २–२ वटा विद्यालय छन् । मनहरी गाउँपालिकाका ३, इन्द्रसरोवर र राक्सिराङ गाउँपालिकाका एक–एक विद्यालयको नतिजा पनि शून्य छ । हेटौंडा उपमहानगरका सामुदायिक र संस्थागत २९/२९ वटा विद्यालयबाट ३ हजार ५६ जना विद्यार्थी एसईईमा सहभागी भएकामा १ हजार ७११ जना (५६ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन् । यसमा पनि सामुदायिक विद्यालयको उत्तीर्ण दर ४५ प्रतिशत र संस्थागत विद्यालयको ७६.६ प्रतिशत रहेको छ । थाहा नगरपालिकाका १७ विद्यालयबाट ५३९ विद्यार्थीले एसईई दिएकोमा १४८ जना (२७.५ प्रतिशत) उत्तीर्ण भएका छन् । मनहरी गाउँपालिकाका ११ वटा विद्यालयबाट ४७३ विद्यार्थीले परीक्षा दिएकोमा ११३ विद्यार्थी (२३.९ प्रतिशत) उत्तीर्ण भएका हुन् । इन्द्रसरोवर र भीमफेदी गाउँपालिकाको उत्तीर्ण प्रतिशत क्रमशः १६.७ र १५.३ हुँदा बाँकी ५ वटा गाउँपालिकाको उत्तीर्ण दर १० प्रतिशत भन्दा कम रहेको छ । यसले मकवानपुर जिल्लाको एसईई नतिजा निकै कमजोर सावित गर्दछ ।
नेपालमा विसं १९९० देखि एसएलसी परीक्षा सुरु भएको हो । यस हिसाबले नेपालमा एसएलसी परीक्षा हुन थालेको ९ दशक नाघिसकेको छ । २०७२ सालसम्म एसएलसी परीक्षाको नामबाट सञ्चालन भएको कक्षा १० को परीक्षा २०७३ सालबाट एसईई भएको हो । २०७३ असार १५ गते शिक्षा ऐन २०२८ को आठौं संशोधन २०७३ प्रमाणिकरण भएपछि स्कूल लिभिङ सर्टिफिेकट एक्जामिनेसन (एसएलसी) को नाम परिवर्तन भई माध्यमिक शिक्षा परीक्षा (सेकेण्डरी एजुकेशन एक्जामिनेशन–एसईई) भएको हो । यस्तै, अंकको आधारमा एसएलसीको नतिजा निकालेर विद्यार्थी पास/फेल छुट्याउने गरिएकोमा २०७१ बाट प्राविधिक धारतर्फ र २०७२ बाट साधारण र प्राविधिक धारतर्फको एसएलसीको नतिजा लेटर ग्रेडिङ पद्दतिबाट गर्न थालिएको थियो ।
विषयगत ३२ प्रतिशतभन्दा कम अंक ल्याउने विद्यार्थी फेल हुने गरेकोमा लेटर ग्रेडिङ लागू भएपछि विद्यार्थीको नतिजामा पास÷फेल उल्लेख गरिएन । आन्तरिक (प्रयोगात्मक) र बाह्य (सैद्धान्तिक) परीक्षाको अंक जोडेर डी प्लस ग्रेड (३० प्रतिशत अंक) ल्याउने विद्यार्थी पाससरह मानिएपछि फेल हुने विद्यार्थी दुर्लभ भए । यस वर्षदेखि लेटर ग्रेडिङ पद्दतिमा परिवर्तन गरेर पास हुनका लागि सैद्धान्तिकतर्फ ३५ र प्रयोगात्मकतर्फ ४० प्रतिशत अंक ल्याउनैपर्ने भएपछि धेरै विद्यार्थी फेल भएका हुन् । एसईई परीक्षामा विद्यार्थीको नतिजा अर्थात् उनीहरुले प्राप्त गरेको अंक विगतकै जस्तो भए पनि मूल्यांकन पद्दतिमा भएको परिवर्तनले यसवर्ष धेरै विद्यार्थी फेल हुन पुगेका हुन् । विद्यार्थीको नतिजा कमजोर हुनुमा मूल्यांकन पद्दतिमात्र जिम्मेवार छैन । आफ्नो जिम्मेवारी पूरा नगर्ने तर दोषजति अर्कोलाई लगाउने परिपाटीले सामुदायिक विद्यालय नतिजा कमजोर बनेको हो । एसईईको नतिजामा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, स्थानीय तह र राज्यका शैक्षिक प्रशासनिक संयन्त्र सबै जिम्मेवार र जवाफदेही बन्नुपर्छ ।