‘बालबालिकाको सवाल, जनप्रतिनिधिको जवाफ’ कार्यक्रममा सहभागी जनप्रतिनिधिहरु ।

हेटौँडाः हेटौंडा उपमहानगरपालिका–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीका विद्यार्थीहरुले वडा नम्बर १० का वडा अध्यक्षसँग अशक्त विद्यार्थीका लागि वडाबाट स्वास्थ्य बिमाको माग गरेका छन् । आइतबार हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको आयोजनामा भएको ‘बालबालिकाको सवाल, जनप्रतिनिधिको जवाफ’ कार्यक्रममा विद्यार्थीले जनप्रतिनिधिहरुलाई वडाबाट बिमाको माग गरेका हुन् ।

कार्यक्रममा सहभागी विद्यार्थीले खेल सामग्री, प्रशिक्षक र निःशुल्क स्काउट प्रशिक्षणको माग राखेको कार्यालयकी बालमैत्री सहजकर्ता सविता विष्टले बताउनुभयो । स्थानीय तहबाट प्राप्त सेवा सुविधा निजी र संस्थागत विद्यालयमा नहुने कारण विद्यार्थीले जनप्रतिनिधिलाई सोधेका छन् । बालमैत्री घोषणा हुँदै गर्दा वडाले प्रदान गरेको सेवाको विवरण विद्यार्थीले माग गरेका थिए ।

यस्तै, विद्यार्थीले निजी, संस्थागत तथा सरकारी विद्यालयका विद्यार्थीहरुलाई राखेर अन्तरक्रिया गर्न सुझावसमेत दिएका थिए । विद्यालय वरपरका पसलहरुमा विभिन्न किसिमका धुमपानजन्य वस्तु बिक्री भइरहेको पाइएको भन्दै विद्यार्थीले प्रश्न सोध्दा वडा अअध्यक्ष लामाले अनुगमनको क्रममा केही नभेटेको र पाइएमा कारवाही गरिने बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, पूर्वप्रधानाध्यापकलगायत विद्यार्थी र शिक्षकको उपस्थिति रहेको थियो । यस्तै, वडा कार्यालयले आज सोमबार तुलसीमेहर मेमोरियल माविमा कार्यक्रम आयोजना गर्ने विष्टले बताउनुभयो । कार्यालयले बिहीबार ज्ञानदा मावि र शुक्रबार संस्कृत वेद विद्यालयमा कार्यक्रम आयोजना गरेको थियो ।