हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–४ स्थित महेन्द्र माध्यमिक विद्यालयको अभिभावक भेलाबाट शिक्षक अभिभावक संघ गठन गरिएको छ । शुक्रबार विद्यालयमा भएको अभिभावक भेलाबाट विष्णुहरि महर्जनको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको हो ।

संघको सदस्यहरुमा अभयकुमार गौतम, राधादेवी दहाल, पूर्णप्रसाद अधिकारी, अस्मिता राई, लक्ष्मी स्याङ्तान, सुरज पराजुली खत्री, गंगाप्रसाद दुलाल र सम्झना लामिछाने चयन हुनुभएको छ । विद्याललय व्यवस्थापन समिति र शिक्षकबाट १–१ जना प्रतिनिधि मनोनित गरिनेछ ।

अभिभावक भेलामा ३ जना शिक्षकहरुलाई सम्मान गरिएको छ । लाम समयदेखि विद्यालयमा अध्यापन गराएर अन्य विद्यालयमा सरुवा हुने ३ जना शिक्षकलाई सम्मान गरिएको हो । विद्यालयले प्रावि तहका नारायणप्रसाद लामिछाने, विशाल राई र विज्ञान शिक्षक दुर्गाप्रसाद पराजुलीलाई सम्मानपत्र प्रदान गरेको छ । पुरानो विद्यालय व्यवस्थापन समितिले नयाँ समितिलाई निर्णय पुस्तिकासहित आर्थिक कारोबारको माइन्युट हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा विद्यालयले कक्षा–१ देखि ८ सम्मका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयको सिमान्तकृत र दलित वर्गका विद्यार्थीहरुलाई प्रतिविद्यार्थी ४ सय रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेको हो । छात्रातर्फ सबै विद्यार्थीहरुलाई छात्रवृत्तिको प्रदान गरिएको थियो भने छात्रतर्फ दलित र सिमान्तकृत वर्गका विद्यार्थीहरुलाई मात्र प्रदान गरिएको थियो । छात्रवृत्तिका लागि एक लाख ७ हजार एक सय रुपैयाँ प्राप्त भएको थियो ।

भेलामा शैक्षिक सत्र २०८० को पुरस्कार वितरणसमेत गरिएको छ । कक्षा १ देखि ९ सम्म वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी एवम् ११ कक्षा उत्तीर्ण गरेर १२ कक्षामा जाने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । पुरस्कारबापत विद्यार्थीहरुलाई करिब ४० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरिएको हो ।

विद्यालयको शैक्षिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउनका लागि अतिरिक्त कक्षा सञ्चालन गरेको छ । कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुका लागि सञ्चालन गरेको अतिरिक्त कक्षामा बिहान ६ बजेदेखि ९ बजेर २० मिनेटसम्म पढाइ हुने गरेको शिक्षक छवि राईले जानकारी दिनुभएको छ । विद्यालयका कमजोर विद्यार्थीहरुलाई विशेषरुपमा प्राथमिकता दिएर गणित, विज्ञान, अंग्रेजी र नेपाली विषय पढाउने गरेको शिक्षक राईले बताउनुभयो ।

अहिलेसम्म अतिरिक्त कक्षाको शुल्क निर्धारण नगरेको र पछि विद्यालय व्यवस्थापन समितिको बैठबबाट शुल्कबारे निर्णय गरिने उहाँले बताउनुभयो । आगामी असार २३ गतेबाट विद्यालयमा कक्षा नर्सरीदेखि १० कक्षासम्मको विद्यार्थीहरुको प्रथम त्रैमासिक परीक्षा सुरु हुने उहाँले बताउनुभयो । विद्यार्थीहरुले परीक्षामा प्राप्त गरेको नतिजाको आधारमा पनि कसरी पढाउने भन्ने कुरामा प्राथमिकता दिइने उहाँले बताउनुभयो ।

विद्यालयमा कक्षा–१ देखि कक्षा–५ सम्म अंग्रेजी माध्यम र ६ देखि १२ सम्म नेपाली माध्यममा पढाइ हुने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार कक्षा–९ देखि १२ सम्म प्राविधिक धारतर्फ अंग्रेजी माध्ययमा इलेट्रिकल इन्जिनियरिङ विषय पढाइने गरेको छ । विद्यालयमा भौतिक पक्षमा कुनै कमी नभए पनि आवासीय सुविधाको अभाव भएको उहाँको भनाइ छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम गौतमको सभाध्यक्ष र गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यमा अभिभावक भेला भएको हो । भेलामा गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीको विशिष्ट आतिथ्य रहेको थियो ।