हेटौँडाः बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरि भुषण प्रसाद कुशवाहको हत्यामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । ५० वर्षीय कुशवाहलाई गोली हानी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले ७ जनाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेका अनुसार किटानी जाहेरी र घटनामा संलग्न भएको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बारा आदर्शकोतवाल गाउँपालिका–२ खजुरिया टोलका ३२ बर्षीय अवधलाल प्रसाद कुशवाह, २९ बर्षीय चांदसी प्रसाद कुशवाह, २७ बर्षीय चुल्हाई भन्ने श्रवण कुमार साह, ३४ बर्षीय राधेश कुमार पटेल, ५४ बर्षीय विनोद राउत कुर्मी, कलैया–१० मटिअर्वा टोलका ५० बर्षीय आम्रपाली भन्ने ब्रहमदेव राम र करैयामाई–७ पिपरा टोलका ५० बर्षीय मोतिलाल चौधरी रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट बा ३२ प ७०५५ नम्बरको यामाहा एफजेड मोटरसाइकल १ थान, ना ५९ प ४७८९ नम्बरको टिभीएस मोटरसाइकल १ थान, ना ३३ प ५४६२ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल १ थान, गोली ६ राउण्ड, विभिन्न मोवाईल, ल्यापटप र नेपाली तथा भारतीय सिमकार्डहरु बरामद गरेको प्रहरी नायव उपरीक्षक न्यौपानेले जानकारी दिनुभएको छ ।
गत जेठ ३२ गते साँझ ५ बजेर १५ मिनेटको समयमा बारा जिल्लाको आदर्शकोतवाल–२ खजुरिया निवासी रामराजा बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख ५० बर्षीय हरि भुषण प्रसाद कुशवाहको गोली हानी हत्या गरिएको थियो । कुशवाह मोटरसाइकल चलाई खजुरियाबाट कलैयातर्फ आउने क्रममा आदर्शकोतवाल–३ बतरा टोलस्थित ग्रेवल सडक खण्डमा पुग्दा अपरिचित व्यक्तिहरुको समुहले गोली हानी घाईते बनाएका थिए । कुशवाहलाई घाईते अवस्थामा उपचारका लागि बयोधा अस्पताल विरगंज लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो । सो घटनाको अनुसन्धानको क्रममा ७ जना प्रतिवादीहरुलाई पक्राउ गरी कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दा दर्ता गरिएको प्रहरी नायव उपरीक्षक न्यौपाने जानकारी दिनुभएको छ । बारा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको बताइएको छ ।