हेटौँडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले पालिकासँगको सहकार्यमा मकवानपुरका ९ वटा पालिकामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक बर्षदेखि संघीय सरकारले सामाजिक सुरक्षाभत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै ज्येष्ठ नागरिकहरुको सहजताका लागि शिविर नै सञ्चालन गर्न लागेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
ज्येष्ठ नागरिकहरु जिल्ला सदरमुकामसम्म आउन, जान समस्या हुने देखिएकोले शिविर नै सञ्चालन गर्न खोजेको प्रशासनले जनाएको छ । मंगलबार सूचना जारी गर्दै प्रशासनले दुई टोली बनाएर जिल्लाका १० पालिकामध्ये ९ पालिकामा पालिकाको केन्द्रमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्ने व्यवस्था गरेको छ भने हेटौँडा उपमहानगरपालिकाको हकमा जिल्ला प्रशासन कार्यालयबाटै सेवा प्रवाह गरिने बताइएको छ । एउटा टोलीले राक्सिराङ गाउँपालिकामा आज जेठ ३० गतेदेखि असार १ गतेसम्म शिविर सञ्चालन गर्नेछ । असार ३ गतेदेखि ६ गतेसम्म कैलाश गाउँपालिकामा, असार ८ गतेदेखि १३ गतेसम्म थाहा नगरपालिकामा र असार १५ गतेदेखि १८ गतेसम्म ईन्द्रसरोवर गाउँपालिकामा शिविर सञ्चालन गर्नेछ ।
दोस्रो टोलीले बागमती गाउँपालिकामा जेठ ३१ गतेदेखि असार २ गतेसम्म, बकैया गाउँपालिकामा असार ४ गतेदेखि ७ गतेसम्म, मकवानपुरगढी गाउँपालिकामा असार ९ गतेदेखि १२ गतेसम्म, भीमफेदी गाउँपालिकामा असार १४ गतेदेखि १७ गतेसम्म र मनहरी गाउँपालिकामा असार १९ गतेदेखि २२ गतेसम्म राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन गर्नेछ । शिविरमा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीले मात्रै सेवा प्राप्त गर्न सक्ने बताइएको छ ।