हेटौंडाः बागमती प्रदेश सरकारले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद (प्रदेश सीटीईभीटी) सञ्चालन गर्ने भएको छ । प्रदेशस्तरमा सीटीईभीटी गठन गरी सञ्चालनको तयारी गरेको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने गरी सीटीईभीटी खोल्ने तयारी गरिएको हो । अधिकृत स्तरदेखि सहायकसम्मका १३ जना कर्मचारी र राजनीतिक नियुक्तिमार्फत् कार्यकारी निर्देशक नियुक्ति गर्ने गरी सरकारले सीटीईभीटी गठन प्रक्रिया अघि बढाएको हो ।

सामाजिक विकास मन्त्रालय मातहतको विभिन्न निकायको पुनःसंरचनासहित सीटीईभीटी खोल्ने सरकारको तयारी रहेको छ । प्रदेश सीटीईभीटी खोल्ने विषयमा गत बैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । बैठकले प्रदेशमा सीटीईभीटी कार्यालय खोल्ने गरी कार्यालय, दरबन्दी तथा कार्य विवरण स्वीकृत गर्ने निर्णय गरेको थियो । बैठकले सीटीईभीटीको कार्यालय स्थापना हुने स्थान, संगठन तालिका, दरबन्दी तेरिज, कार्य विवरण, छाप र साइन बोर्ड स्वीकृत गरेको थियो ।

उक्त कार्यालयमा प्रमुख कार्यकारी निर्देशकसहित १३ जनाको दरबन्दी स्वीकृत गरिएको थियो भने सो कार्यालयमा हाल कायम रहेको दरबन्दीबाहेक ५ जनाको अस्थायी दरबन्दी स्वीकृत गरी प्रदेश सरकारले तलब भत्ताको व्ययभार लिने निर्णय भएको हो । संघीय सरकारलाई काउन्टर गर्दै सीटीईभीटी प्रदेश सरकार मातहत रहने निर्णय गरेसँगै बागमती प्रदेशमा राज्यका दोहोरो संरचना हुने भएको छ । संघीय सरकारअन्तर्गतको सीटीइभीटीको प्रदेश कार्यालय हेटौंडामा रहेका बखत प्रदेश सरकारले आफ्नै सीटीईभीटी खोल्ने तयारी थालेपछि दोहोरो संरचना हुने भएको हो ।

प्रदेश राजधानी हेटैंडामा यसअघि नै संघीय सरकार मातहतको सीटीईभीटी प्रदेश कार्यालय रहेको छ । संघीयता कार्यान्वयनको चरणमा अघि बढ्दा हेटौंडा–११ मा कार्यालय स्थापना गरी काम गरिहरेको उक्त कार्यालय प्रदेश सरकार मातहत हस्तान्तरण हुनुपर्ने हो । तर, संघीय सरकारले कानुनी र प्रक्रियागतरुपमा हस्तान्तरण नगर्दा प्रदेश सरकार आफ्नै सीटीईभीटी गठन गर्ने चरणमा पुगेको सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख खुबीराम अधिकारीले जानकारी दिनुभयो ।

संविधानमा सीटीईभीटी प्रदेश मातहत रहने व्यवस्था रहेको छ । तर, कानुन नबन्दा हालसम्म सो अधिकार प्राप्त हुन सकेको छैन । उक्त अवस्थामा प्रदेश सरकारले सीटीईभीटी आफू मातहत रहने गरी निर्णय गरेको उहाँले बताउनुभयो । ‘सीटीईभीटी संविधानतः प्रदेश सरकारलाई हस्तान्तरण हुनुपर्ने भए पनि प्राप्त हुन नसकेको र सो कार्यालयको काम पनि प्रभावकारी नभएकाले प्रदेश सरकारले नै कार्यान्वयन गरेर अघि बढ्ने तयारी गरेको हो’, उहाँले भन्नुभयो, ‘हेटौंडामा रहेको सीटीईभीटी कार्यालय र प्रदेश सरकारले स्थापना गर्ने संरचना फरक हो । संविधानतः हस्तान्तरण भएको खण्डमा भविष्यमा एकीकृतरुपमा मर्ज गरेर अघि बढ्न सकिन्छ । तत्कालका लागि फरक संरचनाको रुपमा अघि बढाउने तयारी छ ।’

यता संघीय सरकारअन्तर्गतको सीटीईभीटीले पनि हेटौंडामा कार्यालय स्थापना गरी काम गरिरहेको छ । संघीय सरकारअन्तर्गत रहेर सो कार्यालयले प्रदेश सरकारसँग समन्वय गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको सीटीईभीटी बागमती प्रदेश कार्यालय हेटौंडाका निमित्त प्रमुख श्रीधर नेपालले जानकारी दिनुभयो । सो कार्यालयबाट हाल १३ जिल्लाका १८ आंगिक क्याम्पसहरुमा सीपमूलक तालिमहरु सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । उक्त क्याम्पसहरुमा १७ विधामा सीपमूलक तालिम सञ्चालन भइरहेको उहाँको भनाइ छ ।

त्यसका अतिरिक्त छोटो अवधि (३९० घण्टा)को तालिमहरुसमेत सञ्चालन भइरहेको उहाँले बताउनुभयो । कार्यालयले सीप परीक्षण, सीप परीक्षालगायतका कामहरु गरिरहेको उहाँले जानकारी दिनुभयो । निमित्त प्रमुख नेपालका अनुसार संघीय कानुनले निर्देशित नगरेसम्म २ फरक संरचनाको रुपमा सञ्चालन हुनेछ । संघीय कानुनले मर्जरको रणनीति लिएसँगै प्रदेशमा रहेर काम गर्ने उहाँको भनाइ छ ।

प्रदेश सरकारको व्यावसायिक सीप विकाससम्बन्धी ३ वटा परियोजना सञ्चालनका लागि सीटीईभीटी खोल्ने तयारी गरिएको हो । मन्त्रालयअन्तर्गतको युवाहरुका लागि गुणस्तरीय प्रविधिक शिक्षा र तालिम (क्वालिटी) परियोजना र दिगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्सोर) परियोजना र राष्ट्रिय योग्यता व्यावसायिक प्रणाली परियोजना कार्यान्वनयका लागि प्रदेश सरकारले सीटीईभीटी खोल्ने तयारी गरेको हो ।

महाशाखा प्रमुख अधिकारीका अनुसार हाल मन्त्रालयबाट नै हेर्दै आएको उक्त कार्यक्रमको प्रभावकारिताका लागि सीटीईभीटी गठन गर्ने तयारी गरिएको हो । मन्त्रालयअन्तर्गतका कार्यालयबाट हुँदै आएको सीपमूूलक तालिमहरुलाई एकीकृतरुपमा सञ्चालन गर्ने रणनीति रहेको उहाँले बताउनुभयो ।

प्रदेश सरकारको संरचनाअन्तर्गत् कार्यक्रम कार्यान्वयनमा दोहोरोपन तथा अस्पष्टता हटाउन कार्यालयहरु पुनःसंरचना गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । आगामी साउनबाट सञ्चालन हुने गरी व्यावसायिक तथा सीप विकास तालिम केन्द्र धादिङ, व्यावसायिक तथा सीप विकास तालिम केन्द्र मकवानपुर, सार्वजनिक निर्माण कार्यान्वयन इकाई काभ्रे र सार्वजनिक निर्माण कार्यान्वयन इकाई गजुरी, धादिङलाई सामाजिक विकास कार्यालय नामाकारण गरी सोहीअनुसारको कार्य जिम्मेवारी दिने तयारी गरिएको उहाँको भनाइ छ ।

छोटो अवधिको तालिम तथा अन्य व्यावसायिक सीपमुलक तालिम र सीप परीक्षण परीक्षाका क्षेत्रमा सीटीईभीटीबाट काम गर्ने गरी सरकारले काम अघि बढाएको उहाँले बताउनुभयो । साउनबाट काम अघि बढाउने गरी कार्यालय स्थापनाको लागि स्थान खोजी कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारले स्थापना गर्ने सीटीईभीटीलाई संरचनागत चुनौती हुने देखिएको छ । प्रदेश सरकारले सञ्चालन गर्ने विभिन्न सीपमूलक तामिल र सीप परीक्षणको लागि ठोस निर्णय नभएकाले चुनौती देखिएको हो ।

प्रदेश सरकारले स्थापना गर्ने सीटीईभीटीलाई आंगिक क्याम्पसहरुको संरचनागत सञ्जाल निर्माण गर्नुपर्ने चुनौती रहेको छ भने सीप परीक्षणका लागि संघीय सरकारको सीटीईभीटीलाई नै गुहार्नुपर्ने अवस्था रहेको छ । प्रदेश सरकार मातहत नै सीप परीक्षणको संरचना नभएकाले थप चुनौती हुने देखिन्छ ।