हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले पालिकाका निजी विद्यालयको अनुगमन सकाएको छ । महाशाखाले ४ वटा समूह बनाई एक महिना १६ दिनमा अनुगमन सकाएको हो । हेटौंडा उपमहानगरपालिकाले विद्यालयको वर्गीकरण तथा शुल्क निर्धारण गर्न निजी विद्यालयको अनुगमन गरेको हो ।
शिक्षा विकास महाशाखाले वैशाख ५ गतेदेखि अनुगमन सुरु गरेको थियो । वर्गीकरणको प्रक्रियामा विद्यालयले तयार पारेको स्वमूल्यांकन फारममै आधारित भएर अनुगमन गरिएको हो । जसमा मुख्य ७० वटा सूचकहरु बनाइएको थियो भने ३ वटा वर्गाीकरण अंक छुट्याइएको छ । अबको प्रक्रियामा महाशाखाले शिक्षा समितिसँग बैठक बसेर सबै विद्यालयको अंकबारे छलफल हुनेछ ।
अनुगमनपश्चात् ८० प्रतिशतदेखि माथि प्राप्तांक भएका विद्यालयलाई ‘क’ वर्गमा वर्गीकरण गरिनेछ । ६० देखि ७९.९ प्रतिशतसम्म प्राप्तांक भएका विद्यालयलाई ‘ख’ वर्ग, ४० देखि ५९.९ प्रतिशतसम्म ‘ग’ वर्ग र ४० प्रतिशतभन्दा कम प्राप्तांक आएमा ‘घ’ वर्गमा वर्गीकरण गरिनेछ । शिक्षा विकास महाशाखाका अधिकृत पुष्करराज बिष्टका अनुसार अनुगमनका क्रममा ‘क’ वर्गमा पर्ने विद्यालय लगभग देखिएको छैन । ‘ख’ श्रेणीमा धेरै विद्यालय रहेका छन् भने ‘ग’ श्रेणीमा कम र ‘घ’ श्रेणीमा विरलै देखिएको विष्टले बताउनुभयो ।
विद्यमान शिक्षा ऐन तथा नियमावलीअनुसार नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा तीन महिनाअघि नै संस्थागत विद्यालयसँग शुल्क प्रस्ताव माग गरी शुल्क निर्धारण गर्नुपर्ने व्यवस्था छ । विद्यालयको पूर्वाधार, विद्यार्थीको सिकाइ, टिकाउ दर, उत्तीर्ण दर, शिक्षक–विद्यार्थी अनुपात, शिक्षक कर्मचारीको वृत्तिविकास, सेवा सुविधा, खानेपानी, शौचालय सुविधा, प्रयोगशाला, पुस्तकालय, खेल पूर्वाधारलगायतका सूचकमा विद्यालयबाट स्वमूल्यांकन गराई महाशाखाले अनुगमन सुरु गरेको थियो ।