वन तथा वातावरण मन्त्रालय बागमती प्रदेश

हेटौंडाः बागमती प्रदेशअन्तर्गत १३ जिल्लाका लागि १५ जना वातावरण निरीक्षक तोकिएका छन् । सोमबार एक सूचना जारी गर्दै बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले वातावरण निरीक्षक तोकेको हो ।

मन्त्रालयले १३ जिल्लाका १५ डिभिजन वन कार्यालयमा वातावरण निरीक्षक तोकेको हो । मन्त्रालयका अनुसार तोकेका वातावरण निरीक्षकमध्ये मकवानपुर र सिन्धुलीमा २÷२ जना रहेका छन् भने अन्य जिल्लाहरुका १÷१ जना रहेका छन् ।

डिभिजन वन कार्यालय मकवानपुरमा बसन्तराज गौतमलाई वातावरण निरीक्षक तोकिएको छ भने डिभिजन वन कार्यालय राप्ती, मनहरी मकवानपुरमा गगन शर्मालाई वातावरण निरीक्षक तोकिएको छ । डिभिजन कार्यालय सिन्धुलीमा प्रतिज्ञा पौडेल र डिभजन वन कार्यालय मरिण, सिन्धुलीमा सुरु गहतराजलाई वातावरण निरीक्षक तोकिएको छ । डिभिजन वन कार्यालय ललितपुरमा सुमन घिमिरे, डिभिजन वन कार्यालय काभ्रेमा देवराज घिमिरे र डिभिजन वन कार्यालय भक्तपुरमा सरस्वती अर्याललाई वातावरण निरीक्षक तोकएको छ ।

यस्तै, डिभिजन वन कार्यालय काठमाडौंमा शंकर थापा, डिभिजन वन कार्यालय नुवाकोटमा कमल घिमिरे, डिभिजन वन कार्यालय रसुवामा प्रेमा थापा, डिभिजन वन कार्यालय धादिङमा रश्मी तचामो, डिभिजन वन कार्यालय चितवनमा सम्झना अधिकारी, डिभिजन वन कार्यालय रोमछापमा मिलन बुढा, डिभिजन वन कार्यालय दोलखामा आशीष पौडेल र डिभिजन वन कार्यालय सिन्धुपाल्चोकमा भक्तबहादुर श्रेष्ठलाई वातावरण निरीक्षक तोकिएको छ । तोकिएका वातावरण निरीक्षकहरुले वातावरणीण प्रदूषण कम गर्ने, नियन्त्रण तथा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार काम गर्नेछन् ।

प्रदूषण कम गर्ने, हटाउने वा नियन्त्रण गर्ने तथा प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार गर्नुपर्ने कामहरु प्रभावकारीरुपले गर्न गराउन मन्त्रालयले लोकसेवा आयोगबाट निर्धारित प्रक्रिया पूरा गरी वातावरण निरीक्षकहरु नियुक्त गर्न वा त्यस्तो निरीक्षकको काम गर्ने गरी कुनै कर्मचारीलाई तोक्न सक्ने व्यवस्था रहेको छ । वातावरण निरीक्षकले प्रदूषण कम गर्ने, हटाउने वा नियन्त्रण गर्ने कार्य भए नभएको निरीक्षण गर्ने, नियम विपरीत कुनै ठाउँबाट ध्वनी, ताप वा फोहर मैला निष्कासन गरे नगरेको सम्बन्धमा निरीक्षण गर्ने, प्रस्ताव कार्यान्वयन गर्ने स्वीकृति दिँदा तोकिएका शर्तहरुबमोजिम काम भए नभएको जाँचबुझ तथा निरीक्षण गर्ने जिम्मेवारी रहेको छ ।

यस्तै, वातावरण निरीक्षकले वातावरण संरक्षण ऐनको उपदफा (२) को खण्ड (क), (ख) र (ग) बमोजिम निरीक्षण गर्दा देखिएका कुराहरुको प्रतिवेदन तोकिएको अधिकारीसमक्ष पेश गर्ने काम गर्नुपर्ने हुन्छ । ऐनको उपदफा (२) को खण्ड (क), (ख) र (ग) बमोजिम निरीक्षण गर्ने सिलसिलामा वातावरण निरीक्षकले सम्बन्धित प्रस्तावकलाई पूर्वसूचना दिई संरचना वा वस्तुहरुको निरीक्षण, परीक्षण वा जाँचबुझ गर्नसक्ने व्यवस्था रहेको छ । उपदफा (२) र (३) बमोजिम वातावरण निरीक्षकलाई काममा बाधा विरोध उत्पन्न गरेमा जरिवाना गर्नसक्ने अधिकार रहेको छ ।