हेटौंडाः बाराको विभिन्न स्थानबाट लागूऔषध गाँजासहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मातहतका निकायबाट खटिएको प्रहरी टोलीले एक सय २२ केजी लागूऔषध गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान ११ः२० बजेको समयमा जीतपुर सिमरा उपहानगरपालिका–२१, अमलेखगञ्जबाट लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको हो । मनहरीबाट पथलैयातर्फ जाँदै गरेको अवस्थामा बा १० च ३६१९ नम्बरको कारको पछाडिको डिक्कीमा लुकाइछिपाई राखेको ८० केजी गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो ।
उनका अनुसार पक्राउ पर्नेमा कार चालक चितवनको राप्ती नगरपालिका–१०, रिकाटार बस्ने २५ वर्षीय मानबहादुर वाइवा र कारमा सवार मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बस्ने २६ वर्षीय सुमन स्याङ्तान रहेका छन् । पक्राउ परेकाहरुलाई लागूऔषध मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको उहाँले बताउनुभयो ।
यस्तै, बाराको सिम्रौनगढबाट १० केजी गाँजा बरामद भएको प्रहरी प्रवक्ता न्यौपानेले बताउनुभयो । उहाँका अनुसार शनिबार साँझ साढे सात बजेको समयमा इलाका प्रहरी कार्यालय, सिम्रौनगढ र प्रहरी चौकी, श्रीनगर बैरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका–१, हनुमान चोकबाट गाँजा बरामद गरेको हो । उक्त स्थानमा सवारीसाधन रोकी चेकजाँच गर्ने क्रममा नयकाटोलाबाट भारततर्फ जाँदै गरेको बीआर ०५ सी ७०५४ नम्बरको भारतीय मोटरसाइकलमा सवार व्यक्तिले प्रहरीलाई देखेर लागूऔषध गाँजा र मोटरसाइकलसमेत फालेर भागेको उहाँको भनाइ छ ।
यसैगरी, बाराको पथलैयाबाट ३२ केजी लागूऔषध गाँजा बरामद गरेको प्रवक्ता न्यौपानेले बताउनुभयो । आइतबार विहान ५ बजेको समयमा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–१, पथलैया चोकमा हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको प्र.०३–००२ प ५८५४ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले प्रहरीलाई देखेर लागूऔषध गाँजा फाली फरार भएको उहाँले बताउनुभयो ।
उक्त मोटरसाइकलको पछाडि बाँधी राखेको झोलामा ल्याएको अवस्थामा लागूऔषध गाँजा बरामद गरिएको उहाँको भनाइ छ । फेला परेको मेटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको उहाँले बताउनुभयो ।