हेटौँडाः विद्यार्थीलाई निर्वाचनको प्रक्रिया र महत्व बुझाउन तथा विद्यालयका प्रतिनिधि विद्यार्थी चयनका लागि हेटौँडा–५, पिप्लेस्थित बालज्योति माविमा आइतबार निर्वाचन भएको छ । छात्र र छात्रातर्फ विद्यालयको क्याप्टेन चयन तथा ४ वटा सदनको क्याप्टेन र भाइस क्याप्टेन चयनका लागि निर्वाचन भएको हो ।
आम निर्वाचनकै झल्को दिने गरी विद्यालयले निर्वाचन आयोगको समेत सहयोगमा निर्वाचन कार्यक्रम गरेको हो । ४ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई मताधिकार रहने र ८ र ९ कक्षा विद्यार्थी मात्रै उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको थियो । ४ कक्षादेखि १० कक्षासम्म अध्ययनरत ७ सय ७५ जना विद्यार्थी मतदाता मध्ये ६ सय ६७ विद्यार्थीले मतदान गरेको विद्यालयका प्रधानाध्यापक भरत अर्यालले जानकारी दिनुभएको छ । निर्वाचन कार्यक्रमका लागि विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक अमित क्षेत्रीको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
“विद्यार्थीमा नेतृत्व र व्यक्तित्व विकास समेत होस् र निर्वाचनको प्रक्रियाका बारेमा समेत जानकारी गराउने उद्देश्यले विद्यालयले पहिलो पटक निर्वाचनको अभ्यास गरेको हो”, प्रधानाध्यापक अर्यालले भन्नुभयो, “विद्यालयका शिक्षक, कर्मचारीको साथ, सहयोगमा निर्वाचन सम्पन्न भएको छ । आइतबार नै नतिजा सार्वजनिक गरेर विद्यार्थी प्रतिनिधि चयन गर्नेछौं ।” निर्वाचन कार्यक्रमअन्तर्गत मतदानको समयमा वडाका जनप्रतिनिधि, शिक्षा विकास तथा समन्वय इकाई, राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी, अभिभावक, विद्यालय सेवा क्षेत्रका सचेत वर्गले पर्यवेक्षण समेत गरेको उहाँको भनाइ छ ।
छात्रतर्फ क्याप्टेनका लागि ५ जनाको उम्मेदवारी परेको छ भने छात्रातर्फ ४ जनाको उम्मेदवारी परेको छ । निर्वाचनको समग्र प्रक्रिया बुझाउने उद्देश्यले जेठ २० गते नै मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ताको प्रक्रिया पूरा गरिएको थियो । आम निर्वाचनमा प्रयोग हुने म्यादी प्रहरीको समेत अभ्यास गर्ने गरी स्काउटका विद्यार्थीलाई म्यादी प्रहरी बनाइएको थियो । जेठ २१ गते उम्मेदवारमाथि दावी–विरोध गर्ने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्य गरिएको थियो ।
जेठ २१ गते दिनको ४ बजेदेखि २५ गतेसम्म दिउँसो १२ बजेर ३० मिनेटसम्म प्रचारप्रसारको समय तोकिएको थियो भने जेठ २५ गते दिउँसो साढे १२ बजेदेखि मतदान गर्ने समयसम्मका लागि मौन अवधि तोकिएको थियो । आइतबार बिहान १० बजेर ३० मिनेटदेखि दिउँसो १ बजेसम्म मतदानको समय तोकिएको थियो । पहिलो बर्षको प्रयास उत्साहजनक रहेको र आगामी दिनमा अझ व्यवस्थित रुपमा निर्वाचनको अभ्यास गरिने प्रधानाध्यापक अर्यालको भनाइ छ ।