हेटौँडाः मकवानपुरको पश्चिमी क्षेत्रमा सक्रिय चैनपुर जेसीज मनहरीले नयाँ सदस्यका लागि तालिमको आयोजना गरेको छ । शनिबार सदस्यका लागि पूर्वपरिचात्मक तथा अभिप्रेरणामूलक तालिमको आयोजना गरिएको हो । राजु सुवेदीको संयोजकत्व एवम् चैनपुर जेसीज मनहरी वर्ष सन् २०२४ का अध्यक्ष रविन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अनन्तप्रकाश अर्यालको प्रमुख आतिथ्य रहेको थियो ।
वडा अध्यक्ष अर्यालले युवाहरुको संस्था जेसीजसँग सहकार्य गर्दै अघि बढ्न वडा कार्यालय र मनहरी गाउँपालिका तयार रहेको बताउनुभयो । जेसीजबाट राजनीतिक दल तथा अन्य संघसंस्थाले समेत “एक व्यक्ति, एक बर्ष, एक कार्यकाल” को विषयलाई सिकाईको विषय बनाउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारीले चैनपुर जेसीज मनहरीलाई मकवानपुरको पश्चिमी क्षेत्रका युवाहरुको साझा संस्था बनाउने योजना रहेको बताउँदै जेसीज अभियानमा जोडिन युवाहरुलाई अनुरोध गर्नुभयो ।
सहभागीलाई जेसीआई हेटौँडाका पूर्वअध्यक्ष दीपकराज मिश्रले सहजीकरण गर्नुभएको थियो । अध्यक्ष रविन ढकालले जेसीजमा आवद्ध हुन खोजेका युवालाई समेट्दै आफ्नो योजना अनुसार काम गरिने बताउनु भयो । कार्यक्रममा सहभागीको तर्फबाट ओमकुमार मगर र कृष्णप्रसाद खनालले आफ्नो अनुभव राख्नुभएको थियो । २५ जना युवाहरु चैनपुर जेसीज मनहरीमा आवद्ध हुन चाहेको जेसीजका महासचिव कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । अघिल्लो बर्ष बुटवलमा भएको नेपाल जेसीजको ५० औं महाधिवेशनबाट चैनपुर जेसीज मनहरीले पूर्णता प्राप्त गरेको थियो ।