बिमल केशरी पौड्याल

संसारमा सबैभन्दा तेल भण्डार बढी र प्रमुख तेल निर्यातक देश भेनेजुएला हो । सन् १९९९ मा लोकप्रिय वामपन्थी नेता ह्युगो चावेज राष्ट्रपतिको चुनावमा जितेर सत्तामा आएपछि आम जनताको जनजीवनमा असर पार्ने थुप्रै राम्रा कामहरुको थालनी गरे । उनको पालामा गरिबी ५५ प्रतिशतबाट ३४ प्रतिशतमा सीमित भयो । सामाजिक खर्च ७.८३ प्रतिशतबाट बढेर १४.६९ प्रतिशतमा पुग्यो । १५ लाख प्रौढहरु साक्षर भए सस्तो मुल्यका खाद्य स्टोरहरुले झन्डै १ करोड ३० लाख जनतालाई भोकमरीबाट बचाए । दक्षिण अमेरिकामा न्युनतम पारिश्रमिक सबैभन्दा बढी भएको देशको रुपमा भेनेजुएला देखियो । यी सबै उपलब्धिहरु तेल बिक्रिबाट आएको रकमको सदुपयोग गरेर जनताको जीवन पद्दति उकास्न लगाईयो ।

चावेज समाजवादको निर्माण माथिबाट निर्देशित हैन । जनताको तल्लो तहको सहभागिताबाट हुनु पर्छ भन्ने मान्यता राख्दथे । जनतालाई संगठित गर्न फरक अभ्यासको थालनी गरे । कम्युनल काउन्सिल, मजदुर काउन्सिल, कम्युनहरुको गठन र यस मार्फत जनताका समस्या बारे छलफल र निराकरण गर्ने प्रयास गरे । तर, अमेरिकी नेतृत्वको पुँजीवादी, साम्राज्यवादी समुहले भेनेजुएला विरुद्ध सन् १९१० देखि आर्थिक नाकाबन्दी गरे, तेलको मुल्य घट्यो , आम्दानि घट्यो र स्टोरहरुमा खाद्य पदार्थ को मात्रा कम हुन् थाल्यो , केहि उद्योग हरु बन्द भए , गरिबी बढ्यो र आम जनतामा निराशा, डर र आक्रोश उत्पन्न गरियो ।

सन् २०१९ मा अमेरिकाले भेनेजुएलमा पूर्ण आर्थिक नाकाबन्दी लगायो । दक्षिण अमेरिकाको प्रमुख माक्र्सवादी चिन्तक, क्युबा तथा भेनेजुएला (चावेजको समयमा सन् २००२–२००६) सरकारमा सल्लाहकार रही सक्नु भएका मार्ता हार्नेकरको शव्दमा, “भेनेजुएलाका विरोधी शक्तिहरुले आर्थिक युद्ध सुरु गरे, सस्तो मूल्यका खाद्य स्टोर उपलब्धता कम गर्ने, केहि उद्योगहरु धरासायी बनाउने, विदेशी लगानीकर्ता तथा स्थानीय व्यापारीहरुमा डर, त्रास उत्पन्न गर्ने, देश टाट पल्टन लाग्यो भन्ने भाष्य खडा गर्ने र जनतामा असन्तोष उत्पन्न गर्ने ।” विरोधीहरु केहि हदसम्म यस अर्थमा सफल देखिन्छन् । मुद्रास्फिति, गरिबी बढेको छ र आम जनतामा असन्तोष छ । भेनेजुएलाबाट नेपालका वामपन्थीहरुले के सिक्न सक्छन् ?

क) कुनै एउटा मात्रै वस्तुको निर्यातमा अत्यधिक निर्भर न रहने (भेनेजुएला तेल निर्यातमा ८० प्रतिशत निर्भर र सरकारको आम्दानीमा ५० प्रतिशत भन्दा बढी हिस्सा तेलले ओगटेको) र चीन जस्तै निर्यातका विभिन्न क्षेत्रहरु खोल्ने, कृषिजन्य, औद्योगिक उत्पादन आदि ।

ख) कम्युनको सहायताबाट खाद्य सुरक्षा स्थापित गर्ने र समाजवादको बाटोमा जाने । पुँजीवादी बजारको ठाउँमा कम्युनले कृषिजन्य पदार्थको उत्पादन, वितरण तथा उपभोग सम्बन्धमा सहरवासी र उत्पादकहरु बीच पुलको काम गर्छ । कम्युनले जमिन, बीउ, बिजनको साथै उत्पादित वस्तुहरुको वितरण तथा उपभोग सम्बन्धी कार्य गर्छ । भेनेजुएलामा पुएब्लो ये पुएब्लो यस्तै एउटा कम्युनको योजना हो । भेनेजुएलाको युनिभर्सिटीका प्राध्यापक, माक्र्सवादी चिन्तक क्रिस गिल्बर्टको किताब “कम्युन अथवा केहि होइन” मा कम्युनलाई नयाँ ’समाजवादी परियोजनाको रुपमा वर्णन गरिएको छ ।