जेठ १५ गते हेटौँडा–१६, हटियास्थित जनप्रिय माविमा जिल्लाका प्रतिनिधि प्रधानाध्यापकहरुको भेलाले प्रधानाध्यापक संघ नेपालको जिल्ला शाखा गठन गर्यो। विद्यालयको नेतृत्वकर्ता प्रधानाध्यापकहरुको साझा संस्थाको रुपमा प्रधानाध्यापक संघ नेपाल गठनको प्रक्रिया देशभर एक साथ सुरु भएको देखिन्छ । करिब ३ महिनाको तयारीमा देशका ७७ मध्ये ७५ जिल्लामा प्रधानाध्यापक संघ नेपालको शाखा विस्तार भएको छ । जेठ अन्तिम साता राष्ट्रिय महाधिवेशन गरेपछि पालिकास्तरमा प्रधानाध्यापक संघ विस्तारको तयारी समेत भइरहेको बताइएको छ । सार्वजनिक शिक्षा सुधारका लागि महत्वपूर्ण जिम्मेवारी रहने प्रधानाध्यापकहरुको साझा संस्था स्थापनाको सन्दर्भ र प्रधानाध्यापकको जिम्मेवारीको विषयमा रहेर समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले प्रधानाध्यापक संघ नेपालका नवनिर्वाचित अध्यक्ष विष्णु श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशः
समाजः प्रधानाध्यापक संघले कस्तो संस्था हो ? संघको कार्य, उद्देश्य र औचित्य के हो ?
श्रेष्ठः यो सबै प्रधानाध्यापकहरुको साझा घर हो । शिक्षाको अधिकार स्थानीय सरकारको भएपछि प्रत्येक पालिकामा प्रधानाध्यापकहरुको एउटा सञ्जाल छ । त्यस सञ्जालमा भएको प्रधानाध्यापकहरुको राम्रा अभ्यास, शैक्षिक चुनौती र समस्या समाधानका उपायहरु आदान–प्रदान गर्ने कार्य हुन्छ । यो संघ नेपालमा करिव तीन महिना जति अभ्यस्त रह्यो । केन्द्रिय समिति, प्रदेश समिति, जिल्ला समिति हुँदै पालिकास्तरमा पनि सञ्जाल बिस्तार हुँदैछ । यसमा हामीले एउटा स्थानीयस्तरमा मात्र नभएर यसको दायरा जिल्ला तहमा, प्रदेश तहमा, राष्ट्रिय तहमा पनि यो फोरमलाई बृद्धि गरेर देशव्यापी रुपमा भएका राम्रा अभ्यास गरिरहेका विद्यालयहरुका अभ्यास आदान प्रदान गर्ने मूल उद्देश्यका साथ प्रधानाध्यापकहरुले साझा संस्था स्थापना गरेका हौं । भौतिक र विभिन्न मानवीय व्यवस्थापन गर्नका लागि समन्वयकर्ताको भूमिका निर्वाह गर्दा आउने चुनौतीहरु यस संघको मुख्य चुनौति हो । त्यसैले यस्ता चुनौतीको सामना गर्ने उद्देश्यले यो संघको स्थापना भएको हो ।
समाजः देशका कति वटा जिल्लामा संघको शाखा विस्तार भएको छ ?
श्रेष्ठः देशका ७५ वटा जिल्लामा शाखा विस्तार भएको छ । तनहुँ र बैतडी जिल्लामा गठन गर्न बाँकी छ । त्यहाँ पनि गठन गर्ने तयारी छ । अब यस संघको केन्द्रिय अधिवेशन यहि जेठ २६ गतेदेखि २८ गतेसम्म हुने भएकोले अधिवेशन सकिए पनि सबै पालिकाहरुमा एकै साथ समिति गठन गर्ने योजना रहेको छ ।
समाजः हालै समिति गठन भएको छ । तपाईहरुले जिल्ला समिति गठनसँगै अरु कस्ता विषयमा छलफल गर्नुभयो ?
श्रेष्ठः हाल तीव्र गतिमा काम गर्नुपर्ने भएको हुँदा हामीले जिल्लाभरका प्रधानाध्यापकहरुलाई भर्चुअल माध्यमबाट हामीले यो प्रक्रियालाई अगाडि बढाएका थियौं । यहाँ विभिन्न संघ, संस्थाहरु छन्, त्यहाँ पनि प्रधानाध्यापकहरुको छुट्टै सञ्जाल बनाउँदा हामीलाई केही प्रश्नहरु आइरहेको छ । प्रधानाध्याकहरुले आईपर्ने चुनैतिहरुको बारेमा भर्चुअल छलफलमा आफ्ना कुराहरु राख्ने गर्नुहुन्छ ।
समाजः तपाई एउटा विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ । एउटा प्रधानाध्यापकको पदमा रहिरहँदा कस्ता चुनौतिहरु महसुस गर्नुभएको छ ?
श्रेष्ठः २१ औँ शताब्दीमा प्रवेश भएको हुँदा विद्यालयमा शिक्षक र विद्यार्थीबीच ठूलो पुस्तान्तर छ । अहिलेको समयमा प्रविधिमैत्री शिक्षा अनिवार्य छ । भौतिक क्षेत्रमा पनि चुनौतीको सामना गर्नुपरेको छ । विद्यालयमा विषयगत शिक्षक दरबन्दी नहुँदा अन्य विषयको शिक्षकबाट कक्षा लिने हुँदा त्यति स्पष्टता नहुने हुँदा त्यहाँ पनि समस्या आउँछ । अभिभावकहरुले पनि सहजै कुरा नबुझ्ने चुनौतीको सामना गर्नुपरेको छ ।
समाजः विद्यालयहरुमा जसरी प्रधानाध्यापक चयन गर्नुपर्ने हो त्यसरी प्रधानाध्यापक चयन भइरहेको छ त ?
श्रेष्ठः शिक्षा ऐनमा तोके बमोजिम विद्यालयमा प्रधानाध्यापक चयन गरिनु पर्छ । मकवानपुर जिल्लाको हकमा धेरैजसो शिक्षकहरु प्रधानाध्यापकको पदमा बस्न चाहनुहुन्न । विभिन्न राजनीतिक दबाब र विद्यालय व्यवस्थापन समितिको पनि दबाबमा रहेर काम गर्नुपर्ने र प्रधानाध्यापक चयन प्रक्रिया पनि त्यति स्वच्छ हुन सकेको छैन ।
समाजः एउटा असल प्रधानाध्यापकका उल्लेखनीय क्रियाकलाप के के हुन्छन् भन्ने लाग्छ ?
श्रेष्ठः एउटा प्रधानाध्यापकले विद्यालयमा भएका विद्यार्थीहरुको इच्छा आकांक्षा पूरा हुने खालका अभ्यास गराउने, विद्यालयमा किताबी ज्ञान मात्र नभई व्यवहारिक ज्ञानका अभ्यासहरु गराउने, बेला–बेला शैक्षिक भ्रमण जस्ता कार्य गराउँदै शिक्षा र मनोरञ्जन दुबैको स्थापना गर्न सकेमा पक्कै उदाहरणीय, योग्य प्र्रधानाध्यापक बन्न सकिन्छ ।
समाजः तपाईले नगर भित्रका अन्य प्रधानाध्यापकहरुको क्रियाकलाप पनि हेरिरहनुभएको होला । यसबाट कस्तो क्रियाकलाप सिक्ने र सिकाउन सकिन्छ ?
श्रेष्ठः नगरका शिक्षकहरु मिलेर बाहिर अन्य नमुना विद्यालयहरुमा भ्रमणका लागि गएका थियौं । बाल विकासको क्षेत्रमा यस्तो भ्रमण प्रभावकारी रहेको छ । कस्तो सामग्री बालबालिकाहरुलाई चाहिन्छ त्यसको जानकारी पाएका छौं ।
समाजः शिक्षक, कर्मचारी र प्रधानाध्यापक बीचको सम्बन्धलाई कस्तो बनाउनु भएको छ ? कस्तो हुन पर्छ ?
श्रेष्ठः जबसम्म टिम बलियो हुँदैन तबसम्म काम गर्न पनि सहज हुँदैन । यसका लागि हामीले साताको शुक्रबार समूहगत छलफल गर्ने गरेका छौं । शिक्षकहरुको समस्या बुझ्ने र सो समस्याको समाधान गर्ने हो भने पक्कै विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि हुन सक्छ ।