कार्यक्रम पश्चात सामुहीक तस्वीर खिचाउँदै ।

हेटौंडाः विश्व वातावरण दिवस २०२४ को अवसरमा अशोक सामुदायिक वन उपभोक्ता समूहले दुर्लभ वनस्पति भोटेलहरासम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ हेटौंडा उपमहानगरपालिका–१७, राजदेवीमा आयोजना गरिएको विश्व वातावरण दिवसको कार्यक्रम उद्घाटन सामूहिकरुपमा लोपोन्मुख भोटेलहराको विरुवा रोपण गरेर गरिएकोे वनस्पति अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीले जानकारी दिनुभयो ।

कार्यक्रममा गरिएको प्रभातफेरीमा राजदेवी माविका विद्यार्थीहरुले वातावरण संरक्षणसम्बन्धी विभिन्न नारा लगाएका थिए । वनस्पति अनुसन्धान केन्द्रद्वारा हेटौंडा, मकवानपुरगढी तथा बकैयामा पर्ने वंशगोपाल सामुदायिक वन उपभोक्ता समिति, पञ्चकन्या सामुदायिक वन उपभोक्ता समिति, गोरक्षनाथ सामुदायिक वन उपभोक्ता समिति र ज्योति सामुदायिक वन उपभोक्ता समितिमा दुर्लभ वनस्पति भोटेलहराको विरुवाहरु उपलब्ध गराउनुका साथै केहि विरुवाहरु रोपिएको थियो ।

कार्यक्रममा वडा सदस्य नवराज न्यौपाने, सवडिभिजन वन कार्यालयका अधिकृत हरि खड्का, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, राजदेवी माविका प्रधानाध्यापक, अशोक सामुदायिक वन उपभोक्ता समिति, रानी सामुदायिक वन उपभोक्ता समिति, चुच्चेखोला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण वनस्पति अनुसन्धान केन्द्रका वैज्ञानिक अधिकृत अनिशकुमार कर्ण तथा वनस्पति सहायक युगल अर्यालले गर्नु भएको थियो ।