कार्यक्रममा बोल्नुहुँदै संघीय सांसद महेश कुमार बर्तौला

हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरले बिहीबार समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख सचेतक बर्तौलाले नागरिकको उचित व्यवस्थापनसहित हेटौंडा बजार क्षेत्रको सडक विस्तार गर्नुपर्ने बताउनुभएको छ । विकासका काम नरोकिने गरी आम नागरिकलाई राज्यले अभिभावकत्व दिनुपर्ने उहाँले बताउनुभयो । प्रमुख सचेतक बर्तौलाले शिक्षा, स्वास्थ्य, रोजगारीसँगै दीर्घकालीन सोचसहितको विकास निर्माणमा जुट्न जरुरी रहेको औंल्याउनुभयो । उहाँले ठूला सडक पूर्वाधार तथा सुरुङ मार्गको योजना निर्माण गरेर विकासका कामलाई तिव्रता दिनुपर्ने बताउनुभयो ।

‘अब दीर्घकालीन र ठूला परियोजनामा लगानी बढाउनुपर्छ । आधारभूत सुविधासँगै प्रविधियुक्त भौतिक पूर्वाधार विकास आजको आवश्यकता हो’, बर्तौलाले भन्नुभयो– ‘सुरुङ मार्ग, फ्लाइ ओभर ब्रिजलगायतका संरचनामा काम गर्नुपर्छ ।’ नागरिक र व्यवसायीहरुको उचित व्यवस्थापनसहित हेटौंडा बजार क्षेत्रको सडक विस्तार गर्नुपर्ने उहाँको भनाइ छ । प्रदेशको राजधानी फराकिलो र स्तरीय बनाउँदा कसैलाई पनि आवासविहीन र सुकुम्बासी बनाउन नहुने उहाँले बताउनुभयो ।

भीमफेदी–कुलेखानी सुरूङ मार्ग निर्माणका लागि जिल्लाका सबै स्थानीय तहसहित सरोकारवाला व्यक्ति एकताबद्ध भएर अघि बढ्नुपर्ने बर्तौलाले बताउनुभयो । विकास निर्माणका विषयमा तीन तहका सरकारबीच समन्वय हुन जरुरी रहेको उहाँको भनाइ छ । विकासका सवालमा सबैले साझा संकल्प गरेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

विकासको मोडलसहित साझा धारणा निर्माण गरी काम गर्न सके मकवानपुरको समृद्धि सम्भव रहेको उहाँको भनाइ छ । ‘मकवानपुरको उत्तरी क्षेत्र दामन, पालुङ, चित्लाङमा पर्यटन प्रवद्र्धन गर्न पर्यटन केन्द्रको रुपमा विकास गर्नुपर्छ’, एमाले प्रमुख सचेतक बर्तौलाले भन्नुभयो– ‘पर्यटनको विकाससँगै रोजगारी र उद्यमशीलतालाई समानान्तररुपमा अघि बढाउनुपर्ने हुन्छ ।’ हेटौंडाको बन्द रोपवेको सदुपयोगमा सबैले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । सम्पदा र पर्यावरणलाई एकीकृतरुपमा विकास गर्दै नागरिकको सेवा प्रवाहलाई सहजता दिनुपर्ने उहाँको भनाइ छ ।

मकवानपुरको उत्तर–पश्चिम नाका जोड्न मनहरी–थाहाबीच सडक निर्माण गर्न आवश्यक रहेको उहाँले औंल्याउनुभयो । उहाँले मनहरी र थाहा जोड्न रुपचन्द्र विष्ट मार्ग निर्माण गरेर अघि बढ्नुपर्ने बताउनुभयो । हेटौंडा औद्योगिक क्षेत्रको व्यवस्थापनमा स्थानीय सरकारले पनि उचित ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । आर्थिक संकटका कारण उद्योगधन्दा बन्द हुने दर बढ्दो क्रममा रहेकाले तीनै तहका सरकारले उचित नीति तथा कार्यक्रम ल्याएर काम गर्नुपर्ने उहाँको भनाइ छ । पहुँचका आधारमा औद्योगिक क्षेत्रमा जग्गा कब्जा गरेर बस्ने र उद्योग नचलाउनेहरुलाई कारवाहीको दायरामा ल्याउन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले सभ्य समाज निर्माणमा सरकारले लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारहरुको आयस्रोत वृद्धि गर्न उचित व्यवस्थापकीय प्रणाली विकास गर्नुपर्ने बताउनुभयो । जिल्लाको विकास, अवस्था, समस्या र उपलब्धिका बिषयमा छलफल आवश्यक रहेको उहाँको भनाइ छ । राजस्व वृद्विका लागि प्राकृतिक स्रोतहरुको उचित संरक्षण तथा व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले नागरिकको आवश्यकताअनुुसारको विकास र सहज सेवा प्रवाहमा स्थानीय तहले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहलाई बलियो बनाउँदै संविधानको व्यवस्थाअनुसारको अधिकारमा नागरिकको पहुँच वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले संघ, प्रदेशको कानुन स्पष्ट नहुँदा समस्या आएको बताउनुभयो ।

कानुनी अड्चन हल गरेर प्राकृतिक स्रोतको उपयोग गरी विकास निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । नदीजन्य पदार्थ उत्खनन् नहुँदा एकातर्फ राजस्व संकलन हुन नसकेको र अर्कोतर्फ खोला खहरेको सतह बढेर मानव बस्ती नै जोखिममा पर्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो । हेटौंडामा २५ मिटर सडक विस्तारको विषयमा संघीय सरकारले उचित निर्णय नगर्दा अन्यौलता निम्तिएको उहाँले बताउनुभयो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले मनसुनजन्य विपद्का घटनाबारे पूर्वतयारी रहनुपर्ने बताउनुभएको छ । यसबारेमा सरोकारवाला निकायहरुले जोखिमको सम्भावनाबारे प्रशासन कार्यालयलाई जानकारी गराउन पनि उहाँले आग्रह गर्नुभयो । उहाँले अहिले प्राकृतिक स्रोतसाधनको अत्याधिक दोहन भएका कारण विपद्का घटनाहरु बढ्दो देखिएकाले यसबारे सबैलाई सचेत गराउनुपर्ने बताउनुभयो । उहाँले राजस्व संकलन कमजोर भइरहेको भन्दै यसबारे छलफल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जिम्मेवार व्यक्तिहरु नै गैरजिम्मेवार हुँदा जनता निराश भइरहेको बताउनुभयो । कार्यक्रममा अधिकांश स्थानीय तहका प्रमुख उपप्रमुखहरु नै छलफलमा उपस्थित नभएपछि उहाँले यस्तो बताउनुभएको हो । समाजलाई रुपान्तरण गर्ने र जनताको अभिभारा पूरा गर्नुपर्ने व्यक्तिहरु नै छलफलमा सहभागी नहुँदा यो व्यवस्था र जनतामा निराशा बढेको उहाँको भनाइ छ ।

कार्यक्रममा संविधानसभा सदस्य प्रल्हाद लामिछाने, बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक भीम पाख्रिन, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष विष्णु दाहाललगायत विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरुको उपस्थिति रहेको थियो ।