हेटौंडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी वडास्तरीय फुटबल प्रतियोगिताको क्वाटरफाइनलका दुई खेल सम्पन्न भएको छ । सोमबार सम्पन्न क्वाटरफाइनल खेलमा विजयी हुँदै आयोजक वडा नम्बर ४ को ए टिम र २ नम्बर वडाको टिम सेमिफाइनल प्रवेश गरेको छ ।
सोमबार भएको पहिलो क्वाटरफाइनल खेलमा वडा नम्बर ७ लाई २–० गोलले पराजित गर्दै आयोजक ए सेमिफाइनल प्रवेश गरेको हो । आयोजक ए को जीतमा खेलको तेस्रो मिनेटमा किरण बज्यु र २५ औं मिनेटमा रमेश थिङले एक–एक गोल गरे ।
यस्तै, दोस्रो क्वाटरफाइनल खेलमा वडा नम्बर ५ लाई २–१ गोलले हराउँदै २ नम्बर सेमिफाइनल प्रवेश गरेको हो । वडा नम्बर २ को जीतमा खेलको १० औं मिनेटमा सुरज राई र ६० औं मिनेटमा विकल राना मगरले एक–एक गोल गरे । ५ नम्बरका लागि खेलको ५८ औं मिनेटमा मनिक राईले गोल गरे पनि टिमलाई हारबाट जोगाउन भने सकेनन् । सेमिफाइनल प्रवेश गरेको आयोजक ए र २ नम्बर फाइनल प्रवेशका लागि बिहीबार भिड्नेछ ।
प्रतियोगिताअन्तर्गत् मंगलबार बाँकी दुई क्वाटरफाइनलका खेल हुने प्रतियोगिताका संयोजक भूगोल माझीेले बताउनुभयो । मंगलबारको पहिलो खेलमा वडा नम्बर ३ र ६ बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा वडा नम्बर १ र ८ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।