पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्दै व्यवसायी र स्थानीय ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिका–१०, टिसिएनरोडको दायाँबायाँ सडकपेटीमा फलामे बार निर्माण गर्ने क्रममा स्थानीयलाई मर्का परेको भन्दै बिरोध जनाएका छन् । स्थानीयले आइतबार पत्रकार सम्मेलन गरेर उपमहानगरपालिकाको बजेट दुरुपयोग गर्ने सम्बन्धित निकायलाई कानुनबमोजिम कारबाहीसहित तीन बुँदे माग सार्वजनिक गरेका छन् ।

आइतबार टिसिएनरोडका व्यवसायी तथा स्थानीय घरधनीहरुले आंशिक निर्माण भइसकेका संरचनालाई हटाउन र स्थानीय घरधनी तथा व्यवसाथीसँग सहमति लिएरमात्र कुनै निर्माण कार्य अघि बढाउन माग गरेका हुन् । सम्बन्धित वडा कार्यालयले निर्माणको क्रममा स्थानीयको सहमति नलिई र जानकारीसमेत नदिई आवतजावत गर्न नमिल्ने गरी निर्माण कार्य अघि बढाएको स्थानीयले बताएका छन् । स्थानीयले वडा कार्यालयका जनप्रतिनिधिलाई स्थानीयको सहमतिमा निर्माण कार्य अघि बढाउन अनुरोधसमेत गरेका थिए । तर एकतर्फी लागेर निर्माण कार्य अघि बढिरहेको स्थानीयले गुनासो गरेका हुन् ।

निर्माण कार्य रोक्न घरधनीहरुले उच्च अदालत पाटन, हेटौँडा इजलासमा रिट दर्ता गरेका थिए । अदालतले निर्माण कार्य रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । तर, अदालतको आदेशको पालना नगरी प्रहरी परिचालन गर्दै निर्माण कार्य अघि बढाएको स्थानीयको आरोप छ ।