संघीय शासन व्यवस्था लागू भएपछि स्थानीय सरकारका अधिकार पनि बढेका छन् । शिक्षा, स्वास्थ्यजस्ता सामाजिक क्षेत्रको धेरै जिम्मेवारी स्थानीय सरकारमा आएको छ । सोही अनुसार नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका प्रत्येक वडामा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ । राज्य पुनर्संरचनाका क्रममा नगरपालिकाहरुमा गाभिएका तत्कालीन गाउँ विकास समितिमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरु स्वतः नगरपालिका मातहतमा आएको छ । यस्ता स्वास्थ्य संस्थाहरुलाई सुविधासम्पन्न बनाउन पालिकाहरुले प्रयास गरिरहेका छन् । विशेषगरी जनस्वास्थ्यका विविध कार्य–जिम्मेवारी कार्यान्वयनका लागि नगरपालिकाहरु गम्भीर बन्ने गरेका छन् । कतिपय नगरपालिकाहरुले स्वास्थ्य चौकी वा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरेर अस्पतालको रुपमा सञ्चालनमा ल्याइरहेका छन् ।

हेटौंडा उपमहानगरपालिकाले पनि आफ्ना १९ वटै वडामा शहरी स्वास्थ्य केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिकाले हेटौंडा–१६ को हटिया स्वास्थ्य चौकी र हेटौंडा–१३ को पदमपोखरी स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर अस्पतालको रुपमा सञ्चालनमा ल्याएको छ । दुबै अस्पतालका लागि एक–एक जना एमबीबीएस डाक्टर र अन्य आवश्यक स्वास्थ्यकर्मीको दरबन्दी कायम गरिएको छ । पछिल्लो केही महिनादेखि एमबीबीएस डाक्टरले ती अस्पतालबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएका थिए । स्थानीयको स्वास्थ्य उपचारलाई सहज बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएका शहरी स्वास्थ्य केन्द्र तथा अस्पतालले प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न सकेको छैन । हेटौंडा उपमहानगरपालिकाको हटिया र पदमपोखरी अस्पतालमा पनि दरबन्दीको डाक्टर नहुँदा सेवाप्रवाहमा समस्या भइरहेको छ । अस्पताल सुरुवातको समयमा राखिएको डाक्टर अन्यत्र गएपछि अस्पताल डाक्टरविहीन बनेको हो ।

पदमपोखरी र हटिया स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर अस्पताल बनाउनु उपमहानगरपालिकाको राम्रो काम मानिएको थियो । तर, अस्पतालमा डाक्टरको व्यवस्था गर्न नसक्दा अस्पताल नाममात्रको बनिरहेको छ । डाक्टरको अभावमा अस्पतालबाट स्टाफ नर्स र स्वास्थ्य सहायकले सेवा प्रदान गरिरहेका छन् । डाक्टर नभएपछि अस्पतालबाट पहिलाजस्तै आधारभूत स्वास्थ्य सेवामात्र सेवाग्राहीले पाउने अवस्था बनेको छ । गत फागुनमै हटिया अस्पतालका डाक्टरले राजीनामा दिएको भए पनि अहिलेसम्म उपमहानगरपालिकाले अर्को डाक्टरको व्यवस्था गर्न सकेको छैन । डाक्टरको अभावमा सेवाग्राहीले स्वास्थ्य बिमाको उपयोगसमेत गर्न पाएका छैनन् । हेटौंडा उपमहानगरपालिकाले आफ्ना अस्पतालमा डाक्टर नियुक्तिका लागि दरखास्त आह्वान गरेको भए पनि समयमै छनौट प्रक्रिया सञ्चालन गर्न सकेको पाइँदैन । उपमहानगरपालिकाले अझै एक महिनापछि असार १५ गते परीक्षा गरेर डाक्टर नियुक्ति प्रक्रिया सम्पन्न गर्ने जनाइएको छ ।

इमर्जेन्सी सेवासहित सञ्चालन गरिएको अस्पताल फेरि स्वास्थ्य चौकीको हैसियतमा आउन दिनु हुँदैन । विशेषज्ञ चिकित्सक थप गर्दै अस्पतालबाट सबै रोगको उपचार, प्रयोगशालालगायत सेवा थप गर्दै जानुपर्नेमा डाक्टरविहीन भएको चार महिनासम्म पनि डाक्टर नियुक्ति गर्न नसक्नु उपमहानगरपालिकाको कमजोरी हो । प्रत्येक वडाका शहरी स्वास्थ्य केन्द्रबाट सबै प्रकारका स्वास्थ्य सेवा प्रदान गर्न सकिँदैन । जनघनत्व र भौगोलिक अवस्थाका आधारमा अस्पताल स्थापना गरेर स्वास्थ्य सेवा प्रदान गर्नु आवश्यक छ । उपमहानगरपालिकाले नगरको पूर्वी र दक्षिणी क्षेत्रमा सञ्चालनमा ल्याएको अस्पतालको प्रभावकारी व्यवस्थापन गर्नु आवश्यक छ । सँगै मध्ये र पश्चिमी भेगमा थप अस्पताल सञ्चालनमा ल्याउनु उचित हुनेछ । यसरी सञ्चालनमा ल्याइएका अस्पतालमार्फत् नजिकको शहरी स्वास्थ्य केन्द्रको सेवालाई जोड्न सकेमा सेवाग्राहीले पाउने स्वास्थ्य सेवा प्रभावकारी हुनसक्थ्यो ।