हेटौंडाः वाईवाई यु–१९ क्रिकेट प्रतियोगिताका लागि मकवानपुर जिल्ला क्रिकेट संघले टिम छनोट सुरु गरेको छ । बुधबारबाट हेटौंडा–४ स्थित हुप्रचौरमा छनोट खेल सुरु भएको हो ।
छनोट प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुनका लागि ४६ जना खेलाडीहरुले नाम दर्ता गराएको प्रतियोगिता संयोजक सञ्जोग पोखरेलले बताउनुभयो । प्रतियोगितामा सहभागी हुनका लागि नाम दर्ता गराएका किशोर खेलाडीहरुलाई पहेँलो, रातो, आकाशे र निलो गरी ४ वटा समुहमा विभाजन गरेको उहाँले बताउनुभयो ।
छनोट प्रतियोगितामा सहभागी भएका खेलाडीहरुको खेल कौशलताको आधारमा ४ वटा समुहबाट १८ जना खेलाडी छनोट गरी बन्द प्रशिक्षणमा राख्ने मकवानपुर जिल्लाका क्रिकेट प्रशिक्षक राम नरेश गिरीले जानकारी दिनुभएको छ । जिल्लाबाट छनोट हुने खेलाडीहरुले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुँदै वाईवाई यु–१९ को राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने प्रशिक्षक गिरीले बताउनुभयो । शुक्रबारसम्म सञ्चालन हुने छनोट प्रतियोगिता राउण्ड रोबिनको आधारमा खेलाइएको उहाँले बताउनुभयो । नेपाल क्रिकेट संघ (क्यान) ले १९ बर्ष उमेर समूहका किशोर खेलाडी उत्पादन गर्नका लागि मकवानपुरसहित विभिन्न जिल्लालाई वार्षिक क्यालेण्डर अनुसार टिम छनोट गर्न निर्देशन दिएअनुसार छनोट प्रक्रिया सुरु गरिएको हो ।
४ समुहमा विभाजित टिमबीच दैनिक २ वटा खेल खेलाइने छ । प्रतियोगितामा सहभागी हुनका लागि ४ वर्षसम्म कुनै पनि प्रतियोगितामा सहभागी नभएको हुनुपर्ने छ । प्रतियोगितामा सहभागी हुनका लागि जन्मदर्ता २०६२ साल भदौ महिना भन्दापछि जन्मिएको हुनुपर्छ । आइसीसीको नियम अनुरुप १५ बर्ष भन्दा कम उमेर समुहका खेलाडीहरु प्रतियोगिता सहभागी हुन पाउने छैनन् । प्रतियोगिता आयोजनाका लागि एक लाख रुपैयाँको खर्च हुने आयोजकको अनुमान गरिएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा जिल्ला क्रिकेट संघका अध्यक्ष करण महत्रा क्षेत्री र प्रदेश क्रिकेट संघका सदस्य धिरज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।