हेटौँडा अस्पतालले सञ्चालनमा ल्याएको मनोचिकित्सा वार्ड ।

हेटौँडाः हेटौँडा अस्पतालमा मनोचिकित्सा वार्ड सञ्चालनमा आएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहतको हेटौँडा अस्पतालमा विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा वार्डको उद्घाटन गरिएको थियो । बुधबारदेखि १६ बेडसहित वार्ड सञ्चालनमा आएको हो । बुधबार हेटौँडा अस्पतालको मनोचिकित्सा वार्डमा ३ जना विरामी भर्ना भएर उपचार गराइरहेका छन् ।

मनोचिकित्सा वार्ड सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्तिको व्यवस्थापनका कारण सञ्चालन गर्न ढिलो भएको अस्पतालका सूचना अधिकारी राजिव झाले बताउनुभयो । हेटौँडा अस्पतालको मनोचिकित्सा वार्डमा मनोचिकित्सक विशेषज्ञ डा. उद्धव लामा र डा. रितेश राउतले सेवा दिनु हुनेछ । हेटौँडा अस्पतालले मनोचिकित्सातर्फ १६ बेडको व्यवस्था गरिएको छ भने आगामी दिनमा २५ बेडमा विस्तार गर्ने योजना रहेको सूचना अधिकारी झाले बताउनुभयो ।

मनोचिकित्सा वार्डमा सिफ्ट अनुसार तीन जना स्टाफ नर्स, एक जना सुरक्षाकर्मी र एक जना स्वीपर रहेका छन् । मानसिक चिन्ता ठिक पार्ने पहिलो चरण औषधी, दोस्रो परामर्श र तेस्रो जीवनशैलीमा परिमार्जन रहेको चिकित्सकहरु बताउँछन् । घरमा राख्ने स्थिति नभएका बिरामी, जसलाई अरुबाट खतरा र अरुलाई बिरामीबाट खतरा हुने, धेरै गाह्रो भएको बिरामीलाई अस्पतालको वार्डमै राखेर उपचार गरिनेछ ।