विद्यालय व्यवस्थापन समितिमा नवनिर्वाचित पदाधिकारीहरु ।

हेटौंडाः पूर्वी मकवानपुरको बकैया गाउँपालिका–७, माटोकोरीस्थित माटोकोरी आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पवनसिंह गुरुङ चयन हुनुभएको छ । गत शुक्रबार भएको निर्वाचनबाट गुरुङको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति चयन भएको हो ।

निर्वाचनमा मञ्जुमाया स्याङ्तानले ८४ मत, रामबहादुर गुरुङले ८५ मत, शिवलक्ष्मी घलानले ८१ मत र जीतलाल ब्लोनले ८४ मत प्राप्त गरी विजयी हुनुभएको हो । विद्यालय व्यवस्थापन समिति सदस्य पदका आकांक्षी कोपिला लोप्चनले ५७ मत, बिष्णु राईले ५५ मत, विशाल भोलनले ५४ मत र लालीमाया स्याङ्तानले ५८ मत प्राप्त गर्नुभएको थियो । कुल १ सय ५२ जनाले मतदान गरेकोमा १२ मत बदर भएको थियो ।

निर्वाचित सदस्यहरुले पवनसिंह गुरुङ र देवकी राईलाई सदस्यमा मनोनित गरेको थियो । सदस्य गुरुङलाई सदस्यहरुको बैठकले अध्यक्षमा निर्विरोध चयन गरेको हो । नयाँ समितिको कार्यकाल ३ बर्षको रहनेछ । अध्यक्ष गुरुङले सोही विद्यालयमा १९ बर्ष निजी स्रोतबाट अध्यापनसमेत गर्नुभएको थियो ।