हेटौँडाः ओनियन फिल्मस्ले भ्रष्टाचारविरुद्ध लघु चलचित्र प्रदर्शनीसम्बन्धी देशव्यापी अभियान सञ्चालन गरेको छ । देशव्यापी अभियानअन्तर्गत आइतबार र सोमबार हेटौँडाका तीनवटा क्याम्पसमा स्नातक तह अध्ययनरत विद्यार्थीबीच चलचित्र प्रदर्शन गरेको छ । चलचित्र प्रदर्शनीपछि भ्रष्टाचारसम्बन्धी अन्तरक्रिया समेत गरिएको छ ।
आइतबार बिहान हेटौँडा क्याम्पसमा, आइतबार दिउँसो वनविज्ञान क्याम्पसमा र सोमबार बिहान हेटौँडा स्कूल अफ म्यानेजमेन्टका विद्यार्थीलाई लघु चलचित्र प्रदर्शन गरिएको छ । शिक्षा, स्वास्थ्य, सरकारी अनुदानलगायतका विविध विषयमा विद्यमान भ्रष्टाचारसम्बन्धी ५ वटा चलचित्र प्रदर्शन गरिएको थियो । भ्रष्टाचार नियन्त्रणसम्बन्धमा पत्रकारको भूमिका र सफलताको कथाको रुपमा पनि एउटा वृत्तचित्र प्रदर्शन गरिएको थियो ।
आइतबार बिहान हेटौँडा क्याम्पसमा भएको लघु चलचित्र प्रदर्शनीपछि विद्यार्थीसँग निर्देशक अशोक पाठक, पत्रकार सुरेश श्रेष्ठले अन्तरक्रिया गर्नुभएको थियो भने दिउँसो वन विज्ञान क्याम्पसमा भ्रष्टाचार नियन्त्रणका लागि नागरिक निगरानी संस्था मकवानपुरका अध्यक्ष केदारप्रसाद चौलागाईको उपस्थितिमा छलफल भएको थियो । सोमबार बिहान हेटौँडा स्कूल अफ म्यानेजेमन्टमा भएको चलचित्र प्रदर्शनीपछि हेटौँडा उपमहानगरपालिकाको सुशासन समितिका संयोजक तथा १५ नम्बर वडाअध्यक्ष सुनिल मोक्तान र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटाँैडास्थित कार्यालयका अधिकृत राजन रायसँग बहस गरिएको थियो । बहसको सहजीकरण पत्रकार सुरेश श्रेष्ठले गर्नुभएको थियो ।
सेन्टर फर इन्टरनेशनल प्राइभेट इन्टरप्राइजको सहयोगमा लघु चलचित्रको देशव्यापी अभियानअन्तर्गत हेटौँडाअघि विराटनगर, इटहरी र जनकपुरमा चलचित्र प्रदर्शनीको कार्य सकिएको ओनियन फिल्मस्का गोपाल सिवाकोटीले जानकारी दिनुभयो । हेटौँडापछि काठमाडौं, पोखरा, सुर्खेत र लुम्बिनीमा पनि लघु चलचित्र प्रदर्शन गरिने बताइएको छ । भ्रष्टाचारविरुद्ध सचेतना अभिवृद्धि गर्ने उद्देश्यले तयार पारिएको लघु चलचित्र प्रदर्शनीले युवा विद्यार्थीमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको निर्देशक अशोक पाठकले बताउनुभयो ।