हेटौँडाः बागमती प्रदेश सरकारले १७ औँ गणतन्त्र दिवस मनाएको छ । दिवसको अवसरमा प्रदेश सरकारले मंगलबार बिहान हेटौँडाको भूटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को खेलमैदानमा भेला भई स्कूलरोड–बुद्धचोक–चौकीटोल–मानसचोक हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरसम्म व्याण्ड बाजासहितको प्रभातफेरी आयोजना गरेको थियो ।
दिवसको अवसरमा प्रदेश सरकारले विभिन्न कार्यक्रम गरेको थियो । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षता तथा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको गणतन्त्र दिवससम्बन्धी विषयमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, युवा तथा खेलकुद मन्त्रालय र प्रदेश खेलकुद परिषद्ले मैत्रीपूर्ण खेलकुद कार्यक्रम र पत्रकारलाई पुरस्कृत गरिएको थियो भने गणतन्त्र प्राप्तिका क्रममा सहीद भएका परिवारका सदस्यहरुलाई सम्मान गरिएको छ ।