कार्यक्रम पश्चात सामुहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः यामाहा कम्पनीको मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता राज मोटर्सले रे–जेड आर–१२५ एफआई हाइब्रीड स्कुटरको माइलेज च्यालेन्ज तथा राइड आउट कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भएको कार्यक्रममा २१ जनाले सहभागिता जनाएको राज मोटर्सका प्रबन्ध निर्देशक राजन श्रेष्ठले जानकारी दिनुभयो ।

हेटौंडा–४ स्थित यामाहा शोरुमबाट सुरु भएको र्याली बुद्धचोक, राप्तीरोड, सीमाचोक, चौकीटोल, संगमचोक, कन्तिराजपथ, हुप्रचौर, पारिजातपथ, कमाने, हटिया, चौघडा हुँदै पिप्लेस्थित रिगल हेटौंडा रिसोर्टमा समापन भएको थियो । कम्पनीले रे–जेड आर–१२५ एफआई हाइब्रीड स्कुटरको माइलेज ६० किलोमिटर प्रतिलिटर दाबी गरेकोमा ग्राहकले चलाएरै प्रमाणित गरेको राज मोटर्सले जनाएको छ ।

प्रतियोगितामा अधिकतम माइलेज ७९ किलोमिटर प्रतिलिटर आएको र कम (६०.३३) किलोमिटर आएको श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा रोशन आले मगर (७९.९१) प्रथम, उमेश जोशी (७७.८६) द्वितीय, करिना सुनार (७७.८५) तृतीय हुनुभएको छ । प्रथम, द्वितीय र तृतीय हुनेलाई तामाको दियोसहित सम्मान गरिएको श्रेष्ठले जानकारी गराउनुभयो ।

यसअघि पनि यामाहाले माइलेज च्यालेन्ज प्रतियोगिता गर्दै आएको थियो । सेवाग्राहीप्रति आफ्नो उत्पादनको विश्वास बढाउन र सेवाग्राहीका अपेक्षाबारे जानकारी लिन यस किसिमको कार्यक्रम नियमित आयोजना गर्ने गरेको राज मोटर्सका श्रेष्ठको भनाइ छ । मकवानपुर जिल्लामा यामाहा कम्पनीका दुईपांग्रे साधन उपभोक्ताको रुचिमा परेको छ ।