राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक प्रमोद रेग्मी प्रतिवेदन पेश गर्नुहुँदै ।

हेटौंडाः राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७९ सालमा सञ्चालन गरेकोे राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार पछिल्लो ५ वर्षमा बाढीका कारण ५०.२ प्रतिशत भौतिक पूर्वाधार क्षति भएको छ । सोमबार राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक प्रमोद रेग्मीले २०७९ सालमा गरेको स्थलगत राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षणको प्रतिवेदन पेश गर्नुभएको हो ।

रेग्मीका अनुसार ५ वर्षमा बाढीपछि पहिरोले नेपालमा ४३.३ प्रतिशत भौतिक पूर्वाधार क्षति गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७९ सालमा ४५ वर्ष वा सोभन्दा माथिको र एउटै स्थानमा २५ वर्ष बसोबास गरेको २९ वटा जिल्ला, ३ सय २ वटा पीएसयु र ६ हजार ५ सय २० वटा घरपरिवारमा सर्वेक्षण गरेको थियो ।

जलवायु प्रकोपका कारण नेपालमा ४ खर्ब १५ अर्ब रुपैयाँको आर्थिक क्षति भएको छ । नेपालमा जलवायु परिवर्तनको बारेमा सहरका ४२.८ प्रतिशत र ग्रामीण क्षेत्रका २६.३ प्रतिशत बासिन्दा जानकार छन् । सर्वेक्षणको तथ्याङ्कअनुसार ६७.४ प्रतिशत घरपरिवार जलवायु परिवर्तनको कारण रोगबाट आर्थिक घाटामा गएका छन् । २५.२ प्रतिशत घरपरिवारले जलवायु परिवर्तनको कारण वन विनाश रहेको बताएका छन् । यस्तै, ६५.४ प्रतिशत घरपरिवारले पछिल्लो २५ वर्षको अवधिमा जलवायु प्रेरित घटनामा खडेरी प्रमुख रहेको बताएका छन् ।

पछिल्लो ५ वर्षमा जलवायु प्रेरित प्रकोपहरुमा प्रारम्भिक चेतावनी जानकारीको लागि घरेलु पहुँच १२.९१ ले सहमति गरेका छन् भने ८७.०९ ले असहमति जनाएका छन् । विपद्बाट हुने क्षतिलाई न्यूनीकरण गर्न प्रारम्भिक चेतावनी सूचना प्राप्त गरेपछि नेपालका ३५.७ ले अपनाएका छन् भने ६४.३ ले अपनाएका छैनन् । विगत २५ वर्षमा ३६ प्रतिशत रोग बढेको रेग्मीले बताउनुभयो । यस्तै, २५ वर्षमा पानी कम हुनुको मुख्य कारण अपर्याप्त झरना हो । २०७९ सालमा भएको सर्वेक्षण वातावरण विषयमा स्नातकोत्तर गरेका विद्यार्थीले गरेका थिए । राष्ट्रिय तथ्याङ्क कार्यालयले पहिले यसअघि सन् २०१६ मा सर्वेक्षण गरेको थियो ।