हस्ताक्षरपत्रमा हस्ताक्षर गर्दै उपप्रमुख मानकुमारी पाख्रिन । फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरगढी गाउँपालिकाले वडा नम्बर ४ लाई अनिवार्य तथा निःशुल्क शिक्षा वडा घोषणा गरेको छ । शुक्रबार ४ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिनाको सभाध्यक्षता एवम् उपप्रमुख मानकुमारी पाख्रिनले हस्ताक्षरपत्रमा हस्ताक्षर गरी निःशुल्क शिक्षा वडा घोषणा गरिएको गाउँपालिकाका शिक्षा सहजकर्ता कमल फुयालले जानकारी दिनुभयो ।

वडा नम्बर ४ मा एउटा मावि र २ वटा आधारभूत विद्यालय रहेको छ । संविधानको भाग ३ को धारा ३१ मा शिक्षाको हकअन्तर्गत् रहेको आधारभूत तहसम्म निःशुल्क तथा अनिवार्य शिक्षा र माध्यमिक तहसम्म निःशुल्क शिक्षा घोषणा गर्ने तयारी रहेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५, नियमावली २०७७ र अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यविधि २०८० बमोजिम हस्ताक्षरपत्रमा हस्ताक्षर गरी गाउँपालिकाको ४ नम्बर वडालाई निःशुल्क शिक्षा वडा घोषणा गरिएको फुयालले जानकारी दिनुभयो ।

२०८५ सालभित्र देशका ७ सय ५३ वटै स्थानीय तहमा निःशुल्क शिक्षा घोषणा गर्ने कार्यविधि रहेको छ । यसै कार्यविधिलाई आधार मानेर जेठ महिनाभित्र मकवानपुरगढी गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गर्ने तयारी गरिएको फुयालले जानकारी दिनुभयो । यसअघि मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर १ र ३ अनिवार्य तथा निःशुल्क शिक्षा वडा घोषणा भइसकेको छ ।

गाउँपालिकाको ५ नम्वर वडामा घोषणाका लागि आवश्यक तयारी नपुगेका कारण केही समय पछि सारिएको उहाँले जानकारी दिनुभयो । यस्तै, १४ गते २ नम्बर वडा, १६ गते ७ नम्बर वडा, १७ गते ८ नम्बर वडा र १८ गते ६ नम्बर वडा निःशुल्क शिक्षा वडा घोषणा गर्ने तयारी रहेको छ । आर्थिक वर्ष २०७९/०८० मा बागमती गाउँपालिका र कैलाश गाउँपालिका निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा भएको छ भने आर्थिक वर्ष २०८०/०८१ मा मकवानपुरगढी गाउँपालिका र थाहा नगरपालिका घोषणा गर्ने तयारी रहेको छ ।

कार्यक्रममा स्रोत शिक्षक दासरथी उपाध्याय, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रामबहादुर घलानको आतिथ्य रहेको थियो । यस्तै, विभिन्न राजनैतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक एवम् शिक्षक, टोल विकास संस्था, आमा समूह, वडाका जनप्रतिनिधि, स्वयम्सेविका, सहकारी, वन समूहलगायत संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।