सहयोग पश्चात सामुहीक तस्वीर खिचाउँदै ।

हेटौंडाः हेटौंडा इन्फिल्डर्स मकवानपुरले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा एक परिवारलाई सहयोग गरेको छ । बिहीबार हेटौंडा–८, औद्योगिक क्षेत्रभित्रका ७५ वर्षीय योगेन्द्र गिरीलाई खाद्यान्न र लत्ताकपडा वितरण गरेको हेटौंडा इन्फिल्डर्सका सदस्य सुनिल लोप्चनले जानकारी दिनुभयो ।

आर्थिक अवस्था निकै कमजोर गिरीलाई ९ हजार ९ सय रुपैयाँका खाद्यान्न सामग्री वितरण गरेको सदस्य लोप्चनले बताउनुभयो । यस्तै, गिरीलाई ओढ्ने र ओछ्याउने, लत्ताकपडा, टर्च लाइट, रेडियो र एक हजार रुपैयाँ नगद पनि वितरण गरेको उहाँले बताउनुभयो ।

हेटौंडा इन्फिल्डर्सले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । हेटौंडा इन्फिल्डर्सले केही महिनाअघि राक्सिराङ गाउँपालिकामा १ सय जनाभन्दा बढी विद्यार्थीलाई र हेटौंडा–१३ मा पनि ९० जनाभन्दा विद्यार्थीलाई न्यानो कपडा र झोला वितरण गरेको थियो ।