हेटौंडाः ग्यास वान नेपाल प्रालिले खाना पकाउने ग्यासको अयोग्य सिलिण्डर नष्ट अभियान चलाएको छ । मंगलबार एक कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिका–१६, पिलुवामा ४ सय ८ वटा अयोग्य सिलिण्डर नष्ट गरिएको कार्यक्रम सञ्चालक सरोजराज ढकालले जानकारी दिनुभयो ।
कार्यक्रममा सिलिण्डरको ग्यास भर्ने समयमा सामान्य जाँच गर्नुपर्ने, १० वर्षमा नयाँ सिलिण्डर र हरेक ५ वर्षमा हाइड्रोस्ट्याटिक टेस्ट (हाइड्रोलिक प्रेसर) लगायत जाँच गर्नुपर्ने जानकारी गराइएको थियो । जाँच गर्दा लिक भएमा, मुनितिरको वा माथितिरको गोलो (रिङ) बिग्रे, धेरै खिया लागे वा ५ प्रतिशत तौल घटेको भेटिएमा सिलिण्डर अयोग्य ठहरिने र त्यस्तो अवस्थामा मापदण्डअनुसार ग्यास भर्न नमिल्ने भएकाले नष्ट गर्ने गरेको कार्यक्रम सञ्चालक ढकालले जानकारी दिनुभयो ।
पुरानो तथा प्रयोग गर्न नमिल्ने सिलिण्डरहरुको हाइड्रोस्ट्याटिक टेष्ट गरी उपभोक्ताहरुको सुरक्षालाई ध्यान दिँदै प्रयोग गर्न नमिल्ने छनौट गरी नष्ट गर्न आवश्यक ४ सय ८ वटा अयोग्य सिलिण्डर नष्ट गरिएको उहाँले जानकारी गराउनुभयो ।