चलचित्र पत्रकारिता दिवसमा सम्मानितहुनेहरु ।

हेटौंडाः चलचित्र पत्रकार संघको २५ औँ स्थापना दिवस तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा २ जना पत्रकार पुरस्कृत र २ जना कालाकार सम्मानित हुनुभएको छ । बिहीबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी ४ जनालार्ई पुरस्कार तथा सम्मान प्रदान गरिएको होे ।

राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ चलचित्र पत्रकार गीता अधिकारीलाई प्रदान गरिएको छ । चलचित्र निर्माता एवम् वितरक नरेन्द्र महर्जनले आफ्नो बुबाको नाममा स्थापना गर्नुभएको नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय अधिकारी चलचित्र पत्रकार संघको पूर्वकेन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्छ । गीतकारसमेत रहनुभएकी अधिकारी हाल मिलास मासिक पत्रिकामा आवद्ध हुनुहुन्छ ।
यस्तै, चलचित्र पत्रकारिता पुरस्कार २०८१ पत्रकार बालकृष्ण अधिकारीलाई प्रदान गरिएको छ । मकवानपुरमा रहेर अधिकारी लामो समयदेखि छापा तथा टेलिभिजन पत्रकारितामा सक्रिय हुनुहुन्छ । हेटौँडाबाट कान्तिपुर टेलिभिजनका लागि पत्रकारिता गरिरहेका अधिकारी चलचित्र पत्रकार संघ मकवानपुर शाखाका संस्थापक सहसचिवसमेत हुनुहुन्छ । अधिकारीलाई नगद ५ हजार राशिसहित पुरस्कृत गरिएको हो ।

संघले कलाकर्मी सम्मान २०८१ बाट दुई कलाकारलाई सम्मान गरेको छ । गायक तथा कलाकार कोशीस क्षेत्री र कलाकार ध्रुब न्यौपानेलाई उक्त सम्मान प्रदान गरेको हो ।
चलचित्र पत्रकार संघ मकवानपुर शाखा अध्यक्ष कपिल खड्काको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समिर बलामी, केन्द्रीय उपाध्यक्ष नरेन्द्र महर्जन, हेटौंडा उपमहानगरपालिका–२ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जन, ६ नम्बर वडा अध्यक्ष विष्णुबहादुर दाहालको विशिष्ट आतिथ्य रहेको थियो ।