हेटौंडाः नेपालभर पोलियोविरुद्ध खोप अभियान सञ्चालन हुँदैछ । आगामी जेठ १३ गतेदेखि २६ गतेसम्म मकवानपुरसहित देशभर खोप अभियान सञ्चालन हुने भएको हो ।
विगतमा पोलियो खोप लगाउन छुटेका बालबालिकालाई पोलियो खोप दिइन लागेको हो । पोलियो रोगविरुद्धको आईपीभी (इनएक्टिभिटेड पोलियो भ्याक्सिन) खोप लगाउन छुटेका देशभरका करिब १४ लाख ६० हजार बालबालिकालाई अभियान सञ्चालन गरेर खोप लगाइने भएको हो ।
नेपालमा २०७३ साल बैशाखदेखि २०७५ साल असोजसम्म पोलियो खोप लगाइएको थिएन । विश्वमा आईपीभी खोप अभाव भएकाले उक्त अवधिमा बालबालिका खोपबाट वञ्चित भएका थिए । पोलियो रोगविरुद्ध मुखबाट पोलियो थोपा खुवाउने गरेकोमा सन् २०१४ बाट सुईबाट नेपालमा पोलियोविरुद्धको खोप (आईपीभी) सुरु भएको थियो । २०७३ बैशाखदेखि २०७५ असोजसम्म विश्वव्यापीरुपमा अभाव भएका कारण खोप दिन रोकिएको थियो ।
त्यसबेला विश्वबजारमा यो खोप अभाव भएका कारण ती बालबालिकाहरु आईपीभी खोप पाउनबाट वञ्चित भएकाले ती बालबालिकाहरु पोलियो रोगको जोखिममा हुनसक्ने भन्दै खोप दिन लागिएको बताइएको छ । मकवानपुर जिल्लामा पनि जेठ १३ गतेदेखि १९ गतेसम्म जिल्लाका ५ सय ४१ वटा विद्यालयमा अभियानमार्फत् आईपीभी खोप लगाउन लागिएको हो ।
अभियानमा छुटेका बालबालिकालाई जेठ २६ गतेसम्म हेटौंडा अस्पतालकोे एमसीएच क्लिनिकमा खोप लगाइने व्यवस्था मिलाइएको जनस्वास्थ्य कार्यालय मकवानपुरका खोप फोकल पर्सन बासु रिमालले जानकारी दिनुभयो । मकवानपुरका स्थानीय तहहरुमा खोपको सामग्री पुगिसकेको उहाँको भनाइ छ ।
पोलियोविरुद्ध खोप नलगाएमा विभिन्न स्वास्थ्य समस्या देखा पर्नुका साथै मृत्युसमेत हुनसक्ने डब्लुएचओ आईभीडीकी डाक्टर सस्मिता बास्तोलाले बताउनुभयो । बालबालिकालाई पोलियो रोगविरुद्ध एफआईटीई र आईपीभी खोप नियमित लगाउने गरिएको छ । यी दुबै खोपमा खोप दिने ठाउँ र डोजबाहेक कुनै भिन्नता नरहेको बताइएको छ ।
तथ्याङ्कअनुसार पोलियोको समस्या धेरै १५ वर्षमुनिका बालबालिकालाई देखिने गरेको छ । नेपालमा अन्तिम पटक पोलियोको समस्या रौतहटमा २०१० सालमा देखिएको थियो । तर विभिन्न देशहरुमा आवतजावत हुने भएकाले उन्मुलन नहुने बेलासम्म यो खोप लगाउन आवश्यक छ । ज्वरो आएको, रोग प्रतिरोधात्मक क्षमता कम भएको, क्यान्सर रोग लागेको, टिबीको औषधी खान सुरु गरेको अवस्थामा पोलियोविरुद्धको खोप दिन मिल्दैन ।
मकवानपुर जिल्लाको विद्यालयमा अध्ययन गर्ने तथा बाहिरका गरी खोप लगाउनुपर्नेमा २२ हजार ५ सय ६ जना बालबालिका रहेको अनुमान छ । बागमती प्रदेशमा ३ लाख ३० हजार बालबालिका यो खोप लगाउन छुटेको तथ्याङ्क छ । बुधबार जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको अध्यक्षता रहेको थियो ।