हेटौँडा–८ मा अधिवेशन प्रतिनिधि चयनका लागि मतदान गर्दै ।

हेटौंडाः नेकपा एमाले मकवानपुर जिल्ला कमिटीको १२ औँ जिल्ला अधिवेशन जेठ १८ र १९ गते हुँदैछ । जिल्ला सम्मेलनका लागि सोमबार हेटौँडा उपमहानगरपालिकाका १९ वटै वडाबाट प्रतिनिधि चयन भएका छन् । अधिकांश वडामा सर्वसम्मत प्रतिनिधि चयन हुँदा ८ र ११ नम्बर वडामा प्रतिनिधि चयनका लागि निर्वाचन गर्नुपरेको थियो ।

एमाले मकवानपुरका सचिव एवम् प्रतिनिधि व्यवस्थापन समितिका संयोजक नवीन सिग्देलकाअनुसार जेठ १८ गते पार्टी केन्द्रीय अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नुहुनेछ । अधिवेशनका लागि तयारी तीव्र बनाएको उहाँले बताउनुभयो । त्यसका लागि १० वटा स्थानीय तहबाट प्रतिनिधि छान्न सुरु गरेको उहाँले बताउनुभयो ।

अधिवेशनमा १२ हजार पार्टी सदस्यबाट खुला २० जना बराबर एक, महिला १५ जना बराबर एक, दलित १० जना बराबर १ र मजदुर र अन्य पेशागत संगठनबाट गरी ७ जना प्रतिनिधि जिल्ला अधिवेशनका लागि छनौट हुने उहाँले बताउनुभयो । सबै स्थानीय तहले मंगलबारसम्ममा प्रतिनिधि छनौट गरिसक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार सोमबार स्थानीय तहहरुमा सर्वसम्मत र केहीमा मतदानबाट प्रतिनिधि छान्न सुरु भएको छ ।

अधिवेशनमा विगतका कार्यको वस्तुनिष्ट समीक्षा, निर्माण हुने आगामी कार्ययोजना र कार्ययोजना दृढतापूर्वक कार्यान्वयन गर्ने नेतृत्व निर्माणको लागि प्रतिनिधि छनौट नै प्राथमिक कार्य भएको उहाँको भनाइ छ । अधिवेशनबाट ३ वर्षका लागि १ सय ५ जनाको नयाँ कार्यसमिति चयन हुने सचिव सिग्देलले बताउनुभयो ।