संघीयता कार्यान्वयनसँगै देशमा ३ तहको सरकार बनेको छ । यसले आर्थिक, सामाजिक सबै क्षेत्रमा प्रतिस्पर्धा बढाएको छ । संघीय सरकारसँगै ७ वटा प्रदेश सरकार र ७५३ वटा स्थानीय सरकारबीच विकास र समृद्धिमा प्रतिस्पर्धा हुनुपर्छ । एउटा प्रदेशले गरेको राम्रा कामलाई अन्य प्रदेशले पनि लागू गर्नुपर्छ । कुनै स्थानीय तहले गरेको असल अभ्यासलाई अनकूल भएमा अन्य स्थानीय तहले कार्यान्वयनमा ल्याउनु उचित हुन्छ । राम्रा कामको अनुसरणसहित अझ राम्रो गर्ने प्रतिस्पर्धा भएमा संघीयताको मर्मअनुसार देश र जनताले विकास र समृद्धिको अनुभूति गर्न सक्ने सम्भावना हुन्छ । कसरी आफ्नो प्रदेशलाई विकसित र समृद्ध बनाउने भन्नेमा नभई प्रदेशमा सरकार जोगाउन र भागबण्डा मिलाउन धेरैवटा मन्त्रालय बनाएर मन्त्री नियुक्त गर्ने प्रतिस्पर्धा चलिरहँदा संघीयताको मर्म र भावना ओझेलमा पर्दै गएको छ ।
बागमती प्रदेशमा पनि सत्ता गठबन्धन दलहरुबीच भागबण्डा मिलाउन मन्त्रालयको संख्या बढाइएको छ । विगतमा १४ वटासम्म मन्त्रालय बनाइएको बागमती प्रदेशमा वर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रालयको संख्या ११ वटामा झारेको भए पनि पछिल्लो समय मन्त्री भागबण्डा मिलाउन मन्त्रालय थपेर १२ वटा पुर्याइएको छ । नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनाइएकी रमा आले मगरलाई एक महिनाभन्दा बढी समय मन्त्रालयको जिम्मेवारी दिन नसकेपछि मन्त्रालय फुटाएर भए पनि जिम्मेवारी दिइएको छ । सामाजिक विकास मन्त्रालय विभाजन गरेर युवा तथा खेलकुद मन्त्रालय बनाएपछि मन्त्री आलेले पदभार ग्रहण गरेकी हुन् । मन्त्री आलेले पदभार ग्रहण गर्नेक्रममा खेलकुद र पर्यटनलाई जोडेर लैजाने बताएकी छिन् । खेलकुदका कार्यक्रमलाई पर्यटनसँग जोडेर लैजाँदा विकासका काम दिगो हुने र अर्थतन्त्र पनि सबल बन्ने उनको भनाइ छ । नेपालमा खेल पर्यटनलाई खासै महत्व दिन नसकेको अवस्थामा मन्त्री आलेले भनेजस्तै खेलकुदका गतिविधिलाई पर्यटन पर्यटनसँग जोड्न सकेमा अर्थतन्त्र चलायमान बनाउन पक्कै सहयोग पुग्नेछ ।
पर्यटकहरु विभिन्न उद्देश्यले एक ठाउँबाट अर्को ठाउँमा जाने गर्दछन् । विश्व परिवेशलाई हेर्ने हो भने खेल पर्यटनले निकै महत्व पाएको छ । विश्वस्तरीय प्रतियोगिताहरु आयोजना गर्ने देशहरुले उक्त प्रतियोगिता खेल्न आउने खेलाडी तथा हेर्न आउने दर्शकका कारण अर्थतन्त्र चलायमान बनाइरहेका छन् । ओलम्पिक खेलमात्र नभई विभिन्न फुटबल, क्रिकेटलगायत खेल प्रतियोगिताबाट लाखौं पर्यटकलाई आकर्षित गर्ने गरेको पाइन्छ । नेपालमा विश्वस्तरीय प्रतियोगिता खासै नभए पनि राष्ट्रिय र प्रदेशस्तरका थुप्रै प्रतियोगिता हुने गरेका कारण आन्तरिक खेलकुदको माध्यमबाट आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना देखिन्छ । व्यवस्थित र सुविधायुक्त खेल पूर्वाधार निर्माण गरेर प्रतियोगिता सञ्चालन गर्ने हो भने उक्त खेल हेर्न दर्शकको आगमन हुनसक्छ । काठमाडौंको टियु ग्राउण्डमा हुने गरेको क्रिकेट प्रतियोगिता हेर्न दशौं हजार दर्शक आउने गरेको अवस्थाले पनि खेलमार्फत् पर्यटन प्रवद्र्धनको सम्भावना बुझ्न सकिन्छ ।
बागमती प्रदेशले खेलकुद प्रतियोगिता र पूर्वाधार निर्माणमा उल्लेख्य काम गरिरहेको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न सबै प्रदेशले ठूला खेल पूर्वाधार निर्माण र प्रतियोगिता सञ्चालनमा जोड दिनु आवश्यक छ । प्रदेश सरकारले ५० औं हजार दर्शकले खेल हेर्न मिल्ने रंगशाला वा अन्य खेल स्थल निर्माण गरेर ठूला पुरस्कार राशिको राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने हो भने उक्त खेल खेल्न र हेर्न आउनेहरुबाट प्रदेशको आर्थिक गतिविधि सबल बनाउन सक्छ । खेलकुदमात्र नभई धेरै मानिस भेला गराएर गर्ने सभा/सम्मेलनका लागि पनि उपयुक्त पूर्वाधार तयार गर्न प्रदेश सरकार अग्रसर भएमा पर्यटनको विकास हुनसक्छ । प्रत्येक प्रदेशले एथ्लेटिक्स, मार्शल आर्टस् , फुटबल, भलिबल, क्रिकेटलगायत कुनै एक खेलको अन्तर्राष्ट्रिय प्रतियोगितासमेत सञ्चालन गर्नसकिने व्यवस्थित संरचना निर्माण गर्नुका साथै अन्य साहसिक खेलको पूर्वाधार निर्माण गर्ने हो भने खेलमार्फत् पर्यटन विकासको सम्भावना रहन्छ ।