हेटौँडाः बागमती प्रदेश सभाको संसदीय समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । सोमबार प्रदेशसभा सचिवालयमा आयोजित एक समारोहमा विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभा नियमावली (पहिलो संशोधन), २०७४ को नियम १४९ को उपनियम (१) तथा नियम १६७ बमोजिमको उहाँहरुलाई शपथ ग्रहण गराउनुभएको हो । प्रदेशसभाको प्रदेश मामिला समितिका सभापति छिरिङदोर्जे लामा, सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछाने, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुरप्रसाद ढकाल, उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ, अर्थ तथा विकास समितिको सभापतिमा नुरज बज्राचार्य र विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले शपथ ग्रहण गर्नुभएको हो ।
शनिबार प्रदेशमा ४ वटा समितिको नेतृत्व टुङ्गिएको थियो भने २ वटा समितिको नेतृत्व विधिगत रुपमा सोमबार टुङ्गिएको हो । प्रदेश मामिला समितिको सभापति लामा र सार्वजनिक लेखा समितिको सभापति लामिछाने नेपाली कांग्रेस सम्बद्ध हुनुहुन्छ । यस्तै, अर्थ तथा विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बज्राचार्य र शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा माओवादीबाट ढकाल हुनुहुन्छ । उद्योग, पर्यटन तथा वातावरण समिति सभापति श्रेष्ठ एमालेबाट र विशेषाधिकार समितिको सभापति शर्मा एकीकृत समाजवादीबाट हुनुहुन्छ । बागमती प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको डेढ बर्षपछि संसदीय समितिहरुले नेतृत्व पाएको हो ।