हेटौंडाः राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान कार्यसमिति मकवानपुरले हेटौंडामा मौन र्याली निकालेको छ । आइतबार बैंक तथा वित्तीय संस्थाहरुको बेथितिविरुद्ध हेटौंडा उपमहानगरपालि–४, हुप्रचौरस्थित महाअभियानको जिल्ला सम्पर्क कार्यालयमा भेला भई र्याली गरिएको हो ।
महाअभियान मकवानपुर जिल्ला अध्यक्ष भीम रावतको नेतृत्वमा ब्यानर तथा प्लेकार्डहरु बोकेर बिरोध प्रदर्शन गर्दै मौन र्याली निकालिएको छ । बैंक र सहकारीको ज्यादती बन्द गर, घरजग्गा लिलामी बन्द गर, भ्रष्टाचार अन्याय बेथिति बन्द गर, बाँच र बाँच्न देउ जस्ता नारा प्लेकार्डमा लेखिएको थियो ।
¥याली थाहा चोक, पारिजातपथ, कान्तिराजपथ, बुद्धचोक, सीमाचोक, टिसिएन रोड हुँदै हेटौंडा बसपार्कस्थित पिपलबोट चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा अभियान मकवानपुर जिल्ला अध्यक्ष रावतले नेपाल बेथिति तथा भ्रष्टाचारको अखडा बनेको बताउनुभयो । वर्तमान समयमा गरिब जनताहरु दिनप्रतिदिन पीडित बन्दै गएकाले पीडित जनताको आवाज बोल्न र्याली गरेको उहाँले बताउनुभयो ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ज्यादती बढ्दै गएको र ऋण लिएका आम जनताहरुलाई धम्काउने, तर्साउने कार्य नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई उहाँले कोणसभाबाट आग्रहसमेत गर्नुभयो । बैंक तथा वित्तीय संस्था बेलैमा सच्चिन र सर्वसाधारण जनतालाई थप समस्यामा पारी डर, त्रासको वातावरण नबनाउन उहाँले चेतावनीसमेत दिनुभएको छ ।