हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा जारी खुला ७ ए साइड गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत् आइतबार दुई खेल सम्पन्न भएको छ । बकैया–४ स्थित अजिङ्गरे खेलमैदानमा भएको खेलमा बागमती गाउँपालिकास्थित झुरझुरे एफसी र एफसी फापरबारीले विजयी सुरुवात गरेको हो ।

प्रतियोगिताका संयोजक जीवन सञ्जेलका अनुसार आइतबार भएको पहिलो खेलमा बकैया–४ स्थित सोपी एफसीलाई ३–० गोलले हराउँदै एफसी झुरझुरेले विजयी सुरुवात गरेको छ । आइतबार नै भएको दोस्रो खेलमा बकैया–५ स्थित एकान्तबस्ती बीलाई २–० गोलले हराउँदै फापरबारीले विजयी सुरुवात गरेको हो ।

प्रतियोगिताअन्तर्गत् आज सोमबार तीन खेल हुनेछ । सोमबारको पहिलो खेलमा बागमती एकेडेमी र बकैया–९ स्थित उच्च कुडुल्ले भञ्ज्याङबीच हुनेछ । बकैया–४ स्थित सगरमाथ युवा क्लब र वडा नम्बर ७ को कान्द्राङबीच दोस्रो खेल हुनेछ । सोमबारको अन्तिम खेलमा बकैया–४ स्थित पहरे युनाइटेड र सिमात डाँफे युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको फाइनल खेल जेठ १३ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।