हेटौंडाः बागमती प्रदेशसभाका विषयगत समितिका नवनिर्वाचित सभापतिहरुको सपथग्रहण आज सोमबार हुने भएको छ । आइतबार बागमती प्रदेशसभा सचिव कृष्णहरि खड्काले नवनिर्वाचित संसदीय समितिका सभापतिहरुको शपथग्रहण हुने सूचना जारी गर्दै जानकारी गराउनुभएको हो ।
प्रदेशसभा नियमावली (पहिलो संशोधन), २०७४ को नियम १४९ को उपनियम (१) तथा नियम १६७ बमोजिमको बागमती प्रदेशसभाको प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, उद्योग, पर्यटन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति र विशेषाधिकार समितिको नवनिर्वाचित सभापतिहरुको शपथग्रहण हुने भएको हो । विषयगत समितिका सभापतिहरुले सभामुखसमक्ष शपथग्रहण गर्नेछन् । समितिका सभापतिहरुको शपथग्रहण दिउँसो ३ बजे हुनेछ ।
शनिबार प्रदेशमा ४ वटा समितिको नेतृत्व टुङ्गिएको छ भने २ वटा समितिको नेतृत्व विधिगत रुपमा टुङ्गिन बाँकी छ । शनिबार भएको निर्वाचन प्रक्रियाबाट प्रदेश मामिला समितिको सभापतिमा नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा र सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसकै श्रीराम लामिछाने चयन हुनुभएको छ । यस्तै, अर्थ तथा विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नुरज बज्राचार्य र शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा माओवादी केन्द्रका ठाकुर ढकाल चयन हुनुभएको हो ।
प्रदेशसभामा बाँकी रहेका दुई वटा समितिको सभापतिका लागि आज सोमबार नै निर्वाचन हुने छ । निर्वाचनपछि समितिका सभापतिहरुलाई शपथग्रहण गराउने कार्यतालिका रहेको छ । बागमती प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको डेढ वर्षपछि संसदीय समितिहरुले नेतृत्व पाउन लागेको हो ।