हेटौंडाः बागमती प्रदेशसभाको बैठकबाट विशेषाधिकार समिति गठन गर्ने प्रस्ताव पारित भएको छ । शनिबार दिउँसो बसेको प्रदेशसभा बैठकमा नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सचेतक रत्नप्रसाद ढकालले बागमती प्रदेशसभा बैठकमा विशेषाधिकार समिति गठन गर्ने प्रस्ताव पेस गर्नुभएको थियो ।

सचेतक ढकालले नेपालको संविधानको धारा १९३ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १६८ को उपनियम १ बमोजिम विशेषाधिकार समिति गठन गर्ने प्रस्ताव पेस गर्नुभएको हो । उक्त प्रस्ताव प्रदेशसभाबाट पारित भएको हो । शुक्रबार बसेको प्रदेशसभाका मुख्य ५ दलका नेताहरूको बैठकले भागबण्डा मिलाउन उक्त समिति गठन गर्ने सहमति भएको थियो । संविधानको धारा १८७ को व्यवस्थाको विषयमा प्रस्ट पार्न वा सो विषयमा उठेका प्रश्नहरूको जवाफ तयार गर्न सो समिति गठन गर्ने व्यवस्था रहेको छ ।

वाक स्वतन्त्रता हनन भएको अवस्थामा सो समिति गठन गर्ने संविधानको व्यवस्था रहेको छ । संविधानको धारा १८७ अनुसारको प्रदेशसभामा पूर्ण वाक स्वतन्त्रता, प्रदेशसभामा व्यक्त गरेको अभिव्यक्तिका विषयमा छानबिन वा जवाफका लागि सो समिति गठन गर्न सकिने नियमावलीमा व्यवस्था रहेको छ । समितिको सदस्य १७ जना रहने व्यवस्था रहेको छ । उक्त समितिमा प्रदेशसभाका अन्य समितिको सदस्य पनि सो समितिको सदस्य रहेका छन् । उक्त समितिको सभापति दलीय भागबण्डाका आधारमा नेकपा एकीकृत समाजवादीले पाएको छ । एकीकृत समाजवादीबाट मायादेवी शर्मालाई सो समितिको सभापति बनाइएको छ ।

बैठकले प्रदेशसभा नियमावलीबमोजिम प्रदेश मामिला समितिमा रहेका प्रदेशसभा सदस्य आनन्दकुमार श्रेष्ठलाई उद्योग, पर्यटन तथा वातावरण समितिमा र उद्योग, पर्यटन तथा वातावरण समितिमा रहेका प्रेमभक्त महर्जनलाई प्रदेश मामिला समितिमा हेरफेर गरेको छ । प्रदेशसभाको अर्को बैठक आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।