अस्पताल शिलन्यास गरिदैँको तस्वीर ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–४, गरगरेमा बुधबार १५ शैयाको अस्पताल सञ्चालन गर्नका लागि भवनको शिलान्यास गरिएको छ । संघीय सरकारको प्रत्येक स्थानीय तहमा १५ शैयासम्मको अस्पताल निर्माण गर्ने अभियानअनुरुप बकैयामा आधारभूत अस्पतालको भवन शिलान्यास गरिएको हो ।

भवनका लागि १६ करोड ३३ लाख ८९ हजार ४ सय रुपैयाँ बजेट छुट्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार अस्पताल भवन निर्माणको जिम्मा आकृति–इसान–गाउँले जेभीलाई दिइएको छ । अस्पताल भवनको निर्माण कार्य २ वर्षमा सम्पन्न हुने सम्झौता गरिएको छ । गुणस्तीय सेवा प्रदान गर्ने र अपगे्रड गर्ने उद्देश्यले अस्पताल निर्माण गर्न लागिएको हो । श्रेष्ठका अनुुसार अस्पताल निर्माण भएपशचात् सामान्य उपचार, आँखा, स्त्री तथा प्रसुति सेवा, एक्स–रे, इमर्जेन्सीलगायतका न्यूनतम सेवा प्रदान गरिनेछ ।

अस्पतालमा २ जना एमबीबीएस डाक्टरसहित अन्य स्वास्थ्यकर्मी रहने श्रेष्ठले बताउनुभयो । पालिकास्तरीय रहने अस्पतालमा ३ वटा एम्बुलेन्स रहेको छ । हाल गाउँपालिकामा ११ वटा स्वास्थ्य चौकी रहेको छ ।

शिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्त बहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ, वडा नं ४ का वडा अध्यक्ष राजन दंगाल, निवर्तमान गाउँपालिका अध्यक्ष दामोदर खनाल, युवा समाजसेवी बिमल नेपाललगायत राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, स्थानीयको उपस्थितिमा शिलान्यास कार्यक्रम भएको हो ।