हेटौंडाः मकवानपुर र सिन्धुलीमा साप्तहव्यापीरुममा सञ्चालन भइरहेको शिविरमा अहिलेसम्म ३ सय ३६ जना शारीरिक अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १८ वर्षसम्मका बालबालिका तथा १८ वर्षमाथि उमेर समूहका व्यक्तिको स्वास्थ्य परीक्षण गरिएको कार्यक्रमका सुपरभाइजर रुद्रकुमार सापकोटाले जानकारी दिनुभयो ।
बुधबार मकवानपुरको बकैया गाउँपालिकामा भएको शिविरमा ७२ जना शारीरिक अपाङ्गता भएकाहरुको परीक्षण गरिएको छ । शिविर बकैया–६ स्थित बकैया आधारभूत अस्पतालमा भएको थियो । शिविरमा जाँच गरिएकामध्ये ७ जनाको शल्यक्रिया गरिने भएको छ ।
यस्तै, एक जनालाई व्हीलचेयर, २ जनालाई सहायक सामग्री, १ जनालाई बैशाखी र ५२ जनालाई औषधी वितरण गरिएको कार्यक्रमका सुपरभाइजर सापकोटाले जानकारी दिनुभयो । शिविरमा २२ जना १८ वर्षभन्दा माथि उमेर समूहका शारीरिक अपाङ्गता भएकाको परीक्षण गरिएको छ । शल्यक्रियामा लाग्ने खर्च बकैया गाउँपालिकाले ब्यहोर्ने उहाँले बताउनुभयो ।
मंगलबार मकवानपुरगढी–२, शिखरकटेरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भएको शिविरमा एक सय एक जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा जाँच गरिएकामध्ये १८ जनाको शल्यक्रिया गरिने उहाँले जानकारी दिनुभयो । बाँकी बालबालिकालाई औषधी वितरण गरिएको छ ।
यस्तै, बैशाख ३० र ३१ गते हेटौंडा उपमहानगरपालिकाको समन्वयमा हेटौंडा अस्पतालमा भएको शिविरमा १ सय ६३ जनाको चेकजाँच गरिएको छ । स्वास्थ्य परीक्षणको क्रममा १५ जना बालबालिकालाई सर्जरिका लागि अपाङ्ग बाल अस्पताल बनेपा रिफर गरिएको, ११ जनालाई कृत्रिम अङ्ग प्रदान गरिनेछ भने ५८ जनालाई औषधी वितरण गरिएको उहाँले जानकारी दिनुभयो । शल्यक्रियाका लागि रिफर गरिएका बालबालिकाको हेटौंडा उपमहानगरपालिकाको खर्चमा सर्जरी गरिनेछ ।
घुम्ती शिविरमा जन्मजात वा पछि खुट्टाको पैताला भित्र÷बाहिर फर्केको, खुट्टा लुलो र कमजोर भएको, जोर्नीहरू दुख्ने, सुन्निने, बाङ्गिएको वा खुस्किएको, औंलाहरू एक–आपसमा टाँसिएको वा बढी भएको समस्या परीक्षण गरिएको छ । आज बिहीबार भीमफेदी गाउँपालिकाको वडा न २ को कार्यालयमा र भोलि शुक्रबार भीमफेदीस्थित ईपा स्वास्थ्य चौकीमा शिविर हुनेछ । यस्तै, सिन्धुलीको हरिहरपुरगढीमा ६ गते र मरिण गाउँपालिकामा ७ गते घुम्ती शिविर हुने सापकोटाले जानकारी दिनुभयो । शिविरमा डाक्टर, फिजियोथेरापिष्ट, कृत्रिम अङ्ग बनाउने, स्टाफ नर्स, सीबीआरलगायतको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गर्ने जनाइएको छ ।