हेटौंडाः मकवानपुरको हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पतालको बिच भ्रम सृजना गर्ने कार्य भइरहेको बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो । बुधबार प्रेस मिट राख्दै पौडेलले भ्रमबाट मुक्त हुन आवश्यक रहेको र भ्रमको पछि नलाग्न आमजनतालाई आग्रह गर्नुभएको हो ।
बागमती प्रदेशको यसअघिको सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौंडा अस्पताललाई अलग गर्ने प्रयास गरेको थियो । सोबिरुद्ध सम्मानित सर्वोच्च अदालतमा प्रतिष्ठानबाट रिट दर्ता गरेकोमा अदालतले प्रतिष्ठानबाट हेटौंडा अस्पताललाई अलग गर्न नमिल्ले निर्णय गरिसकेको छ । कानुनीरुपमा भएको व्यवस्थालाई अदालतको निर्णयले पुनर्पुष्टि गरिसकेको हुँदा प्रतिष्ठानसँग हेटौंडा अस्पताललाई अलग गर्नुपर्छ भन्ने अभिव्यक्ति भ्रम, कुण्ठा र राजनैतिक प्रतिशोध रहेको पौडेलले बताउनुभयो । हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत् सञ्चालन भएको विषयलाई अतिरञ्जित गरी भ्रम पार्न खोजिएकोले भ्रममा नपर्न पौडेलले आग्रह गर्नुभएको छ ।
कार्यक्रममा पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पताल सञ्चालन गरेपश्चात् विभिन्न सेवाहरुमा गुणस्तर कायम भएको बताउँदै आम नागरिकको अस्पतालप्रति भरोसा र विश्वासमा वृद्धि हुँदै गएको बताउनुभयो । प्रतिष्ठानले सञ्चालन गरेको हेटौंडा अस्पताल सुदृढ र सक्षम हुँदै गएकाले मकवानपुरबासीले गर्व गर्नुपर्ने पौडेलले बताउनुभयो । प्रतिष्ठानले प्रदान गर्ने सेवा सुविधामा कटौती, स्वास्थ्य सेवामा कटौती हुनेगरी गरिने प्रयास अभिव्यक्ति र टिप्पणीलाई कडारुपमा प्रतिवाद गरी प्रतिष्ठानको स्वायत्तता र स्थायित्वका लागि खबरदारी गर्नुपर्ने पौडेलको भनाइ छ ।
पौडेल मुख्यमन्त्री हुनुभएको बेला मकवानपुर जिल्लाको स्वास्थ्य सेवालाई उकास्ने, उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने तथा चिकित्सा शिक्षा सञ्चालन गर्ने उद्देश्यले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन र सञ्चालन भएको थियो । प्रतिष्ठानले नेपाल सरकारबाट स्वीकृत भएको स्वास्थ्य सेवा र शिक्षा नीतिअनुरुप काम गर्ने गरेको छ ।