हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघमा शुक्रबार बैंकर्स एसोसिएसनसँग उद्योगी/व्यवसायीहरुको बैंक सम्बन्धी समस्याको बारेमा छलफल भएको छ । छलफलमा व्यवसायीले बैंकलाई संवेदनशील र सहयोगी बन्न आग्रह गरेका छन् । लकडाउनका कारण व्यापार, व्यवसाय बन्द हुँदा व्यवसायीले बैंकको नियमित व्याज र किस्ता तिर्नै नसक्ने अवस्था रहेको भन्दै यतिबेला बैंकले संवेदनशील र सहयोगी भएर व्यवसायीलाई साथ दिनुपर्ने बताएका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले कोभिड–१९ को कारण भएको लकडाउनले उद्योग/व्यवसाय क्षेत्र जर्जर बनेको बताउनुहुँदै यही अवस्थामा बैंकको किस्ता तिर्नका लागि आएको दवाव उचित नभएको बताउनुभयो । मकवानपुरमा पनि बैंक ऋणकै कारण आत्महत्याको घटना भएकोले बैंकहरु पनि सजग र संवेदनशील हुनुपर्ने बताउनु भयो । बैंकले सहज वातावरण श्रृजना गर्नुपर्नेमा व्याजदर बढाउने, व्यवसायीको स्वीकृति बेगर ऋण थपिदिने जस्ता गुनासा आफूसम्म आएकाले बैंकर्स एशोसिएसनले सबैसँग छलफल गरी कुनैपनि बैंकले त्यस किसिमको कार्य नगर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । लकडाउन अवधिलाई लक्षित गरी बैंकले प्रदान गर्ने सुविधाहरु २ प्रतिशत व्याज छुट, थपकर्जा, पुनर्कर्जा जस्ता विषयमा प्रष्ट सूचना निकाल्न पनि आग्रह गर्नुभयो । साथै सो अवधिको किस्तालाई पुनर्तालिकीकरण अनुसार भुक्तानी गर्न, पुनर्कर्जा तथा कस्ट अफ फण्ड बराबर व्याज कायम गर्ने विषय मौद्रिक नीतिमा समेट्न सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पूरानो नारायणी यातायात कम्पनी प्रालिका अध्यक्ष हिरालाल श्रेष्ठले आफूहरुले किस्ता पुनर्तालिकीकरण गनुपर्ने माग राखेको बताउनुहुँदैै शर्तबन्ध तरिकाले व्याज घटेपनि सामान्य अवस्थामा व्याजदर बढेको बताउनु भयो । नारायणी यातायात व्यवसायी कम्पनी प्रालिका कार्यकारी निर्देशक माधव अधिकारीले केही बैंकको व्याजदर बढाएको पाइएकाले बैंकर्स एशोसिएसनले छलफल गरी एउटै नीति बनाउन आग्रह गर्नुभयो । उद्योग संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष स्वागतराज प्याकुरेलले बैंकहरुले आफ्नो वित्तीय अवस्थाअनुसार राष्ट्रबैंकको २ प्रतिशत छुटमा थप छुटसुविधा उपलब्ध गराउन आग्रह गर्नुभयो । त्यसैगरी पूरानो नारायणी यातायात कम्पनी प्रालिका महासचिव सरोज कुमार खनालले तल्लो तहमा छलफल भएका विषय बैंकर्स एशोसिएसनमार्फत मौद्रिक नीतिमा सुझाव स्वरुप लैजानका लागि माथिल्लो तहमा पनि जानकारी गराउन आग्रह गर्नुभयो ।

बैंकर्स एशोसिएसन मकवानपुरका अध्यक्ष रमेशराज प्याकुरेलले बैंकहरुको आधार–दर घटेको र त्यो सार्वजनिकरुपमा नै पत्रपत्रिकामा आएकोले व्यक्तिगत सूचना नदिइएको र त्यो बैंकको प्रणालीबाटै हुने बताउनुभयो । किस्ताको पुनर्तालिकीकरणका लागि १२.५ प्रतिशतको सुरक्षा व्यवस्था गर्नुपर्ने भएकाले बैंक अनिच्छुक भएको बताउनुभयो । केही पत्रिका र सामाजिक सञ्जालमा आएका विषयले ऋणीहरु २०७६ फागुन अघिकै किस्ता तिर्न अनिच्छुक भएकाले मउवासंघ मार्फत त्रैमासिक किस्ता पुससम्मको र मासिक किस्ता फागुनसम्मको चुक्ता गर्न उद्योगी/व्यवसायीहरुलाई आग्रह गरिदिन अनुरोध गर्नुभयो । त्यस्तै बैंकर्स एशोसिएसनका तर्फबाट लकडाउन अवधिको व्याज पुनर्तालिकीकरण गरी एक वर्षभित्र चुक्ता गर्न वा साँवा किस्तासँगै पूँजीकरण गरी आगामी ५ वर्षभित्र तिर्ने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएको बताउनुभयो । एभरेष्ट बैंकका सगुन नेपालले पनि सार्वजनिक रुपमा पत्रिकामै आएको विषयहरु सबै ऋणीहरुलाई बैंकले जानकारी नगराएको बताउनुभयो ।

संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा मउवासंघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, महासचिव प्रमोदसिंह रानाभाट, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल, होटल एसोसिएसन मकवानपुरका निप्पु सर्राफ, पीडित होटेल व्यवसायी अतित मानन्धर तथा कुमारी बैंक, एनसिसि बैंक, सानिमा बैंक र सनराइज बैंकका शाखा प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।