घरघरै पुगेर विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्नुका साथै विद्यार्थीको नाम दर्ता गर्दै ।

हेटौंडाः हेटौंडा–९, लामसुरेस्थित प्रगति माविले विद्यार्थीको घरघरै पुगेर पाठ्यपुस्तक वितरण गरेको छ । कक्षा १ देखि १० कक्षासम्मका विद्यार्थीलाई घरघरै पुगेर पाठ्यपुस्तक वितरण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक किशोर पराजुलीले जानकारी दिनुभएको छ । विद्यार्थीलाई आवश्यक सम्पुर्ण पाठ्यपुस्तक १० दिन लगाएर वितरण गरिएको विद्यालयले जनाएको छ ।

घरघरै पुग्दा पनि सबै विद्यार्थीलाई पाठ्यपुस्तक पुर्‍याउन नपाएको सहायक प्रधानाध्यापक पराजुलीको भनाइ छ । लकडाउनका कारण कतिपय विद्यार्थी गाउँ गएकाले उनीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउन नसकिएको उहाँले जानकारी दिनुभयो । प्रगति माविले इन्टरनेटको पहूँच भएका बालबालिकाहरुलाई अनलाइन कक्षा सञ्चालन गरिरहेको छ । ईन्टरनेटको सुविधा नभएका विद्यार्थीलाई गृहकार्यहरु दिई पठनपाठनको कार्य भैरहेको विद्यालयले जनाएको छ ।