हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिकामा सलह किरा छिरेको छ । आज विहान मात्रै भारतबाट नेपाल प्रवेश गरेको सलह किरा केहि समयअघि मकवानपुर आइपुगेको हो ।
बारा जिल्लाको सीमा आसपासको क्षेत्र बकैया गाउँपालिका वडा नम्बर १ रदुवा, मोरङगे र धियाँल लगायतको क्षेत्रबाट प्रवेश गरेको सलह किरा त्यहाँबाट उडेर वडा नम्बर ७ र ४ तर्फ गैसकेको बकैया गाउँपालिकाका उपाध्यक्ष सरला बोलखेले जानकारी दिनुभयो । उहाँका अनुसार हजारौंको संख्यामा प्रवेश गरेको सलह किरा जंगलमा धेरै र मकैबारीमा केही बसेको छ । उहाँले आफुसहित गाउँपालिका अध्यक्ष दामोदर खनाल र गाउँपालिकाका पदाधीकारीहरु सलह प्रवेश क्षेत्रतर्फ अनुगमनमा गएको जानकारी दिनुभयो ।
त्यस्तै मकवानपुरगढी गाउँपालिकामा पनि सलह किराको प्रवेश भएको गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले बताउनुभयो । वडा नम्बर ३ बाट प्रवेश गरेको सो किरा हाल वडा नम्बर ७ सुकैरातर्फ पुगेको जानकारी आएको छ । फट्याङ्ग्रा प्रजातिको एक कीरा सलहले अण्डाबाट निस्केपछि खान थाल्छ । खन्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका हरिया घाँसपातलाई पहिलो आहारा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो काँचुली फेर्दै यो बयस्क बन्छ ।
जतिपटक काँचुली फेर्छ, त्यति ठूलो आकार लिन्छ । हाल देखिएको सहल विगत ७० वर्षअघि देखिएको भन्दा २० गुणा ठूलो आकारको रहेको बताइएको छ । यसले बिरुवाका पात, फल मात्र हैन, यसको हाँगा र बिरुवा नै सखाप पार्छ । सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्ने विज्ञहरु बताउँछन् ।