चितवन र तनहूँको उपनिर्वाचनले हौसिएको रास्वपा मिसन ८४ को नारासहित आगामी सरकार आफ्नो नेतृत्वमा बनाउने दावी ईलामको उपनिर्वाचनको परिणामले तुषारापात भएको छ । रास्वपाका उम्मेदवार मिलन लिम्बूले धरौटी समेत जोगाउन असमर्थ भएपछि मिसन ८४ को सपनामाथि ठूलो बज्रपात हुन पुगेको हो । सरकारमा रहेर गृह मन्त्रालयको नेतृत्वसमेत गरेको रास्वपाको यो अवस्था अनपेक्षित थियो । रवि दाई हाई–हाई भन्ने जमात, रवि दाइ बाई–बाई भन्ने मनस्थितिमा पुगेको हो कि भन्ने धेरैले अड्कल काट्न थालेका छन् । रवि लामिछानेको पृष्ठभूमि, अमेरिकाको बसाई, नेपाल आगमन पश्चातको पत्रकारिता हुँदै रास्वपाको उदयसम्मको घटना कम रोचक छैन । गएको स्थानीय निर्वाचनमा काठमाडौं, धरान, धनगढीमा स्वतन्त्र उम्मेदवार रहेका बालेन, हर्क, गोपाल हमालले चुनाव जिते । यो निर्वाचनले एउटा महत्वपूर्ण सन्देश दियो । ठुला दलप्रति आम मानिसको विकर्षण बढ्दैछ भनेर ।

रवि यहि मनोविज्ञान बुझ्न सफल भए । फलाम तातिएको छ यहि बेला ठोक्नुपर्छ भन्ने चतुर रविले राष्ट्रिय निर्वाचनको करिब छ महिनाअघि पार्टी खोलेर नामको अगाडि स्वतन्त्र झुण्ड्याए । विकल्प खोजिरहेका निराश जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मूलुकको चौथो शक्तिकोरुपमा स्थापित गरी दिए । भष्टाचारमुक्त, सुशासनको नारा दिएको पार्टीमा युवा पंक्तिको ठूलो आकर्षण देखियो । बढ्दो भष्टाचार र युवाहरुको विदेश पलायनले ठुला दल र यसका नेताका असक्षमता सतहमा देखिन थाल्यो । संकट र निराशाका बीचमा रास्वपाले मिशन ८४ को नारा लगाउन थाल्यो, रास्वपाले केहि फरक गर्छ भन्ने सोचाई त्यतीबेला असफल र असत्य देखिन थाल्यो जब यो पार्टी सरकार र गृहमन्त्रीका लागि आफ्ना सारा मूल्य, मान्यतालाई दाउमा राखेर सरकारमा जान मरिहत्ते गर्न थाल्यो ।

गणितीय आधारमा सरकारकै नेतृत्व गर्न सक्ने सम्भावना मात्र होईन कांग्रेसले प्रधानमन्त्रीकै अफर गर्दा पनि गृहकै मोह देखिनुको रहस्य खुल्दै छ । सहकारी प्रकरणमा कुनैपनि बेला फस्न सक्ने संकेत पाएका रविले गृहमन्त्रालय नै रोज्नु अस्वाभाविक थिएन । सरकारमा गएपछि प्रचण्ड, केपीदेखि अनुसन्धान गर्ने सबै निकाय यिनको पक्षमा देखियो । महान्यायाधीवक्ताबाट कुनै उजूरी÷जाहेरी, अनुसन्धान तथा अभियोजनसमेत भएको नदेखिएको भन्नेसम्मको चिठ्ठी तयार पारेर आफू निर्दोष रहेको जीकिर गरिरहेका रवि लामिछानेले केचाहिँ बुझ्न सकेन भने सरकार नै बचाउमा लागेपछि सरकार मातहतका निकायको त्यत्रो ठूलो दुस्साहस होला र ? बहालवाला गृहमन्त्रीलाई दोषी करार गर्ने…?

तसर्थ सहकारी काण्डमा यिनलाई प्रतिवादी बनाईएन । तर कांग्रेसले सहकारी ठगी प्रकरणमा रविको संलग्नताबारे विस्तृत रिपोर्ट नै तयार पा¥यो र संसदीय छानबिन समितिको माग राखी लामो समयदेखि संसद अवरुद्ध गर्दै आएको छ । संसद अधिवेशन शुक्रबारबाट बस्दैछ । यो बजेट अधिवेशन पनि सुचारु हुने देखिँदैन । कांग्रेसले संसदीय समिति बनाउनुपर्ने मागलाई बटमलाईन बनाएको छ । विगतमा रामशरण महत वा जनार्दन शर्माको बारेमा कुरो उठेपछि वा आरोप लागेपछि संसदीय समिति वा न्यायिक समिति बनेका थुप्रै नजीर रहेको छ । रविका विषयमा थुप्रै प्रश्न उठे, त्यस्लाई “यो वा त्यो बहानामा पन्छाउन नसकिएला । सहकारीको रकम ग्यालेक्सी टिभी अर्थात उक्त कम्पनिमा लैजान कानुनतः मिल्दैन । त्यहाँ ठुलो रकम लगेको देखिन्छ । यस्ता आंशकायुक्त विषयहरु छन् जस्को निरुपण हुन जरुरी छ ।

रविको संलग्नता बारे निवेदन परेको छ । आफ्नै विभागीय मन्त्रिलाई कसरी अभियोजनमा प्रतिवादी बनाउन सक्छ प्रहरीले ? सहज बुझ्न सकिन्छ । त्यसैले यिनको राजिनामाको माग चर्कँदै छ । गणितीय कारणले प्रचण्ड यिनलाई जोगाउन लागेका छन् । तर, आफूलाई अलि फरक देखाउने पार्टीले म ठिक छु भने, छानबिन गर किन भन्न नसकेको होला ? ७२ घण्टाभित्र ढाकाप्रसादलाई कार्वाही हुने रविको हकमा चाहि त्यो लागू नहुने हो ? यो देवत्वकरण अन्ततः अवसानको बाटो हो भन्दा अत्युक्ति नहोला । रवीलाई जनताले शंकाको सुविधा दिएकै हुन् । शालिग्राम पुडासैनी काण्ड होस् वा दोहोरो नागरिकता, पासपोर्ट काण्ड । अनगिन्ती रवी माथिका आरोप चिरेर चितवनका जनताले चुनावमा जिताए । त्यति मात्र होईन ठूला पार्टी र त्यस्का नेताहरुलाई “नो नट अगेन” भन्दै रास्वपा चुनावमा होमिएको थियो । तर आज बिडम्वना नै भन्नुपर्छ त्यहि ठूला पार्टी र नेताको पुच्छर समातेर जसरी रास्वपा सरकारमा गयो त्यसले यो पार्टी पनि पुरानै दलको निरन्तरता हो भन्ने कुरालाई पुष्टी गरेको छ ।

रविको उचाई स्खलित हुनुमा उनको भनाई र गराईमा तादाम्त्यता नहुनु पनि हो । जुन रफ्तारमा रास्वपा आयो त्यो शाख जोगाउन उसलाई हम्मे–हम्मे छ । मुलुकको राष्ट्रिय राजनीतिमा युवा पुस्ताको आकर्षण छ । काम गर्ने क्षमता रास्वपाकै सुमना, स्वर्णिमहरुमा छनै यस्मा दुईमत छैन । बिराज, तोषिमालगायग थुप्रै रास्वपाका कार्यकर्तामा काम गर्ने हुटहुटी नभएको होईन । तर नेतृत्व गर्नेले सिङ्गो पार्टीको भविष्य हेरेर आवश्यक परे त्याग गर्न सक्नुपर्छ । बैकल्पिक पार्टी भनिने शक्तिले आचार–विचार, व्यवहारमा शुद्धता जनताले अनुभूती गर्ने खालको हुनुपर्छ । पुरानो पार्टीको नेताजस्तो ३५ बर्ष आफै अध्यक्ष हुने आर्यघाटसम्म पदमै जाने प्रवृत्ति भन्दा यो भिन्न देखिनु पर्छ । युवा उमेरको वर्चस्व रहेको पार्टीले सिङ्गै युवा पुस्ताको आशा जगाउन सक्नुपर्छ । एकथरि मानिसहरु बुढाहरु काम छैन भन्ने भाष्य निर्माण गर्न खोज्दैछन् । वास्तवमा त्यो पनि बेठिक हो ।

राजनीति उमेरले निर्धारण गर्दैन । क्षमता÷योग्यता क्रियाशीलता र विचारको मापनमा राजनीतिलाई बस्तुगत रुपमा हेर्नुपर्छ । अन्यदेशका उदाहरणले पनि भन्छ– चिलिका गव्रियल वोरिक ३५ वर्षमा राष्ट्रपति भए भने ७८ वर्षका वाइडन अमेरिकी राष्ट्रपति छन् । फिनल्यान्डका सनामरिन ३५ वर्षका प्रधानमन्त्री छन् । नेतृत्वमा रहनेले अवस्था र आवश्यकता हेरी सक्षम र लोकप्रियलाई नेतृत्व सुम्पिएर त्यहि टिममा बसेर काम गरेको उदाहरण हाम्रै छिमेक भारतको उदाहरण हेर्दा हुन्छ । पार्टीअध्यक्ष भइसकेका राजनाथ सिंह, अमित शाह मोदीकै मन्त्रिपरिषद्मा काम गरिरहेका छन् ।कुनैबेला पार्टीमा बलियो पकड बनाएका लालकृष्ण आडवाणीले प्रधानमन्त्री हुने मौका आउँदा लोकप्रियता कै कारणले अटल वा जपेयीलाई अगाडि सारे । सिंगापुर बनाउने लि कुआन युले प्रधानमन्त्री भएपछि आफ्नै छोरा लिसियनलुङ प्रधानमन्त्रीको मन्त्रिपरिषद्मा सदस्य भएर काम गरे त्यहा कुनै हिनताबोध छैन । हाकिमकहाँ यस खाले लघुताभास धैरै छ ।

रास्वपाले आफूलाई पुनर्मूल्याङ्कन/आत्मसमिक्षा गर्दै पार्टीको समग्रहित, संगठनको भविष्य यसमा आवद्ध सक्षम नेता र कार्यकर्ताको काम गर्ने जागरलाई मर्न नदिने हो भने पार्टी एउटा व्यक्तिको स्वार्थ र अंहकारमा सति जानू हुँदैन । हिजो एऊटा कालखण्डमा पार्टी निर्माणमा अतुलनीय योगदान गरेको होला तर आजको यथार्थ जेहो त्योसँग सम्झौता गर्न हुँदैन । पार्टी अध्यक्षले नै यो विषम परिस्थितिको निकाश दिने हो । आगे जो विचार ।