विद्यार्थीलाई वितरण गर्नेगरी वडाअध्यक्ष सिग्देल (दायाँ) ले प्रधानाध्यापक दाहाल (बायाँ) लाई पोशाक हस्तान्तरण गर्नुहुँदै ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले श्रमिक माविका विपन्न विद्यार्थीलाई सोमबार विद्यालय पोशाक वितरण गरेको छ । विपन्न परिवारका ५२ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको थियो भने अंग्रेजी माध्यमतर्फ ४ कक्षा र ५ कक्षामा भर्ना हुने पहिलो ५÷५ जना गरी १० जना विद्यार्थीलाई पोशाक हस्तान्तरण गरिएको छ ।

विद्यालयले लागु गरेको सदनगत पोशाक खरिद गर्न नसक्ने विपन्न परिवारका विद्यार्थीलाई वडा कार्यालयले पोशाक सहयोग गरेको हो । वडाले टि–सर्ट, ट्राउजर र जुत्ता वितरण गरिएको छ । विद्यालयले हरेक मंगलबार र शुक्रबार सदनगत पोशाकको व्यवस्था गरेको छ । वडा अध्यक्ष नवीन सिग्देलले एकजना प्रतिनिधि विद्यार्थीलाई पोशाक वितरण गर्नुहुँदै एकमुष्ठ विद्यालयका प्रधानाध्यापक श्रीराम दाहाललाई विद्यालय पोशाक हस्तान्तरण गर्नु भएको थियो । वडा अध्यक्ष सिग्देलले हस्तान्तरण गर्नुभएको विद्यालय पोशाक विद्यालयले सोमबार नै विद्यार्थीलाई वितरण गरेको छ । श्रमिक माविले कक्षा ४ र ५ मा यसै बर्षदेखि अंग्रेजी माध्यम समेत सञ्चालन गरेकोले नयाँ विद्यार्थी भर्नालाई आकर्षित गर्न पोशाक वितरण गरेको जनाएको छ ।

१० कक्षासम्म पठनपाठन हुने श्रमिक माविमा ८ कक्षासम्म अंग्रेजी माध्यममा समेत पठनपाठन भइरहेको छ । चालु शैक्षिक सत्रमा एक सयभन्दा बढी संख्यामा नयाँ विद्यार्थी भर्ना भएर विद्यार्थी संख्या ६ सय भन्दा बढी भएको प्रधानाध्यापक श्रीराम दाहालले जानकारी दिनुभएको छ । जेठ महिनाको अन्त्यसम्ममा विद्यार्थी संख्या ७ सय नाघ्ने उहाँको भनाइ छ । शैक्षिक सत्र २०८० को वार्षिक परीक्षामा ५ सय १७ जना विद्यार्थी सहभागी भएको जानकारी दिनुहुँदै चालु शैक्षिक सत्रमा विद्यार्थी संख्या ८ सय पु¥याउने विद्यालयको लक्ष्य रहेको बताउनुभएको छ ।